प्रचण्ड चुनवाङकै बाटोमा, माओवादी एकताको आह्वान

प्रचण्ड चुनवाङकै बाटोमा, माओवादी एकताको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टुटफुट र विभाजित अवस्थामा रहेका माओवादी घटकहरुलाई एकतामा आउन आह्वान गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादी धारहरूलाई एकीकृत हुन अपील गर्नुभएको हो । आफू जनक्रान्तिको प्रक्रियामै रहेकाले सबै एकतावद्ध हुने उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले माओवादी धाराहरु एकीकृत हुने प्रक्रियामा रहेकोसमेत दाबि गर्नुभयो । हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर बाहिरिएकाहरु नै अहिले एकताका लागि इच्छुक रहेको र आफू स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो । 

'फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ', प्रचण्डले भन्नुभयो, 'म जनक्रान्तिकै बाटोमा छु, म चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।'

बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बर्जुवा चरित्रको नभएको स्पष्ट पार्नुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औंल्याउँदै उहाँले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताउनुभयो । पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्याउनुपर्नेमा प्रचण्डको विशेष जोड छ ।


 

टिप्पणीहरू