पहिले र अहिलेकाे इमोसनबारे दयाहाङकाे अनुभव : आकाश–पातालको फरक

पहिले र अहिलेकाे इमोसनबारे दयाहाङकाे अनुभव : आकाश–पातालको फरक

नेपाली चलचित्रका सर्वाधिक व्यस्त अभिनेता हुन्, दयाहाङ राई । पछिल्लो एक वर्षमा उनका ११ चलचित्र रिलिज भए । आगामी शुक्रबार उनको नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ रिलिज हुँदैछ ।

यो चलचित्र दयाहाङका निम्ति विशेष रहेको बताइन्छ । यसलाई उनले अहिलेसम्म कै सबैभन्दा बढी (भौतिक एवं मानसिक) मेहनत गरेको चलचित्र ठानेका छन् । दोस्रो, यसमा दयाहाङले निर्देशक नवीन सुब्बासँग काम गरेका छन्, जसलाई उनी आफ्नो करिअरको ‘कडा अभिभावक’ भन्न रुचाउँछन् । ‘कडा अभिभावक’ यस अर्थमा कि सुब्बाले बेला–बेलामा दयाहाङकै सिर्जनात्मक आलोचना गरेको पाइन्छ ।

तेस्रो, चलचित्रले ‘होमकमिङ’ गर्दैछ । चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, क्यानडाको टोरन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभललगायत २० भन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएर यो चलचित्र नेपालमा प्रदर्शन हुन लागेको हो ।

क्यानडामा चलचित्रको वर्ल्ड प्रिमियर हुँदा दयाहाङलाई ‘नेपालका अमिताभ बच्चन’ समेत भनिएको थियो । यद्यपि, यो विषयमा दयाहाङले  औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, आफ्नो अभिनयलाई बलिउडका खम्बासँग तुलना गरिदिँदा दयाहाङलाई अप्ठेरो भने लागेको छ । उनै दयाहाङसँग जनआस्थाले गरेको कुराकानीको सम्पादित अंश ः

‘गाउँ आएको बाटो’ कसरी जन्मियो ?

मलाई लाग्छ यो कथा १५/१६ वर्षअघि महेश राईजीले लेख्नुभएको हो । एउटा ठाउँ वा गाउँमा पहिलोपटक बाटो पुगेपछि त्यहाँको जनताको जीवनस्तरमा फरक पर्छ । बाटोले थुप्रै चिज लिएर आउला, जाँदा पनि त्यो बाटोले थुप्रै चिज लिएर जाला । यस्तै केही परिवेशको कथा हो । मैले पनि धेरै पहिले सुनेको हो– यो कथामा फिल्म बन्न लागेको छ भन्ने । संयोगवश यो कथामा म हुन पाएँ ।

निर्देशक नवीन सुब्बाले धेरै ठाउँमा तपाईंको आलोचना गर्नुभएको थियो, तर कसरी उहाँसँगै जोडिनुभयो ?

दाइ (नवीन सुब्बा) ले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेरो चरित्रबारे समीक्षा गरिरहनुहुन्छ । एक हिसाबले भन्ने हो भने उहाँको ‘नुमाफूङ’ हेरेरै मलाई अभिनयको रहर जागेको हो । उहाँको काम देखेरै कथा त हाम्रो समुदायको पनि हुँदो रहेछ, हामी पनि कथाको पात्र बनेर फिल्म गर्न सक्दो रहेछौं भन्ने लागेको हो । पछिल्ला दिनहरुमा मैले अभिनय र फिल्म गर्न थालेदेखि सायद उहाँले मबाट धेरै अपेक्षा राख्नुभएको थियो, जुन मैले दिन सकिरहेको थिइन । सायद, त्यही अपेक्षाले मलाई अझै राम्रो गरोस् भन्ने मनसायले भन्नुभएको जस्तो लाग्छ । त्यसलाई मैले आलोचनाभन्दा पनि सिर्जनात्मक सुझावको रुपमा लिन्छु । अहिले उहाँसँग काम गरेपछि मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । यदि कसैले मलाई मेरो हेर्नैपर्ने फिल्मको नाम माग्छ भने म ढुक्क भएर ‘गाउँ आएको बाटो’ भन्न सक्छु ।

अनि यो चलचित्रको सुटिङ कहाँ–कहिले भएको थियो ?

करिब तीन वर्षजति भयो होला सुटिङ भएको त ! भोजपुरको आमचोक भन्ने गाउँमा गरेका थियौँ । विभिन्न फेस्टिभलमा सहभागी भएर अहिले नेपालमा रिलिज हुँदैछ । तर, अझै कतिपय फेस्टिभलमा पनि सहभागी हुँदैछ, यो ।  

चलचित्रको ट्रेलरमा तपाईंले बाँस र चोयाको काम गरेको देखियो, तपाईंलाई यो सीप आउँथ्यो ?

म गाउँघरमा हुर्केको मान्छे । किसानको छोरा भएपछि बाँस (चोया, काठ, ढुंगा–माटो, बालुवा–गिट्टी) को सामान्य काम त परिहाल्छ । बाँस–चोयाको सामान्य सीप मलाई पहिल्यै आउँथ्यो । तर, त्यस्तो पर्फेक्टचाँहि होइन । जे होस्, कस्तो बाँस के काम लागि प्रयोगमा आउँछ, कसरी काट्ने ? यस्तो आधारभूत कुरा थाहा थियो ।

बाँस र चोयाको काम त अलि संवेदनशील नै हो नी, हैन र ?

हो, एकदम । अरु–अरु कामभन्दा यसको काम गर्दा अलि ध्यान दिनुपर्छ । चोयाले हात काट्ने, छाला पत्रिने समस्या हुन्छ । मैले पनि नगरेको धेरै भइसकेको थियो । तर, चलचित्रको लागि १०/१५ दिन नियमित अभ्यास गरेँ ।

ट्रेलरमा गहरुंगो भारी बोकेको पनि देखियो नि !

त्यो पनि बोकेँ । कथाको माग नै त्यस्तै छ । सामान्य गाउँघरको कथा भएकोले भारी बोक्नुपर्ने दृश्य त भइहाल्छ ।  

गह्रौं भारी बोकेका दृश्यका लागि कति टेक लिनुपर्यो ?

ठ्याक्कै भन्न त सकिन्न । तर, केही सिनको लागि १०÷१२ पटकसम्म टेक लिइयो होला । यसमा फेरि कलाकारको अभिनयले मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ । मैले राम्रो गरिरहँदा क्यामरा हल्लिन सक्छ । क्यामरा मिलेको बेला लाइट नमिल्न सक्छ । त्यतिबेला मौसमले पनि साथ दिनुपर्छ ।

उदाहरण दिन मिल्ने कुनै सिन छ ?

एउटा सिन छ । म बाँसको भारी बोकेर ओरोलो गइरहेको । त्यो सट निकै लामो थियो । पहिलो सट खिच्दा–खिच्दै बादल लाग्यो । दोश्रो सट, राम्रो भा’को थियो तर बेस्सरी आएको हावाले क्यामरा नै हल्लाइदियो । तेस्रो सटमा सबै ठीक चलिरहेको थियो, तर हावाले एउटा झार क्यामेराको मुखमा लाग्यो । यस्ता धेरै कुराहरु थिए । त्यही भएर पटक–पटक टेक लिनुपर्यो । किनकी, एउटा पर्फेक्ट दृश्यको लागि सबै कुरा मिल्नुपर्छ । कलाकारको अभिनय, प्राविधिक कुरा, मौसम, लाइट, वरपरको आवाज र वातावरणलगायत सबै । तर, यो सट गर्दा मभन्दा पनि अरु ४/५ जना साथीहरुले दुःख पाउनुभयो । उनीहरुले उकालोमा तानेर माथि लग्नुपर्थ्यो अनि मैले फेरि तानेर ओरालो झर्नुपर्थयो । पटक–पटक यही चलिरहँदा उकालोमा तान्न त स्वभाविक रुपमा गाह्रो भइहाल्छ ।

चलचित्रमा तपाईंको क्यारेक्टर कस्तो छ ?

मैले अहिलेसम्म गरेको चलचित्रभन्दा यसको कथा र क्यारेक्टर नै फरक छ । यो राई समुदायको कथा हो । त्यसमा पनि राईभित्र थुप्रै भाषाहरु छन् । म वान्तवा भाषी हो । चलचित्रमा पनि त्यही भाषीको वरपर घुमेको छ, कथा । हेर्दाखेरी÷सुन्दाखेरी राई एउटै हो, तर राईभित्र पनि करिब २८ वटा भाषा छन् । ती सबै भाषा मैले पनि अझै बुझ्नसकेको छैन । जुन भेगमा सुटिङ भयो, त्यहाँको भाषा बुझ्न मैले पनि कान ठाडो पार्नुपर्ने अवस्था थियो ।

अर्को कुरा, फिल्मको कुनै पनि क्यारेक्टर स्क्रिप्टको टेक्स्टभन्दा बाहिर गएको छैन । अघिल्ला चलचित्रमा चाँही अलिअलि आफैंले परिमार्जन सकिन्थ्यो । तर, यसमा सबै क्यारेक्टर टेक्स्टमा बाँचेका छन् ।

सुटिङ गर्नुअघिको स्क्रिप्ट र अन्त्यमा सम्पादन भइसकेपछि कतिको फरक हुन्छ ?

स्क्रिप्ट पढेपछि एउटा कथा र क्राफ्ट त थाहा भइहाल्छ । तर सुटिङ गरेर सम्पादन गर्दा कथालाई कसरी भन्ने, त्यो सुविधाचाँहि निर्देशकको हातमा हुन्छ । तर जे भए पनि स्क्रिप्ट नै मुख्य कुरा हो । जे होस्, स्क्रिप्ट पढ्दा फिल्म देखिनुपर्छ ।

स्क्रिप्टमा तपाईं कसरी फिल्म देख्नुहुन्छ त ?  

जस्तो तपाईं र म (हामी) दुई जना गफ गरिरहेको दृश्य छ । स्क्रिप्टमा ’दुई जना गफ गरिरहेका छन्’ भन्ने लेखियो । तर, त्यति लेखिँदैमा दृश्य बन्दैन । के विषयमा गफ गरिरहेका छन्, कहाँ बसेर गफ गरिरहेका छन्, कस्तो ढाँचामा बसेर गफ गरिरहेका छन्, यस्ता पुरक कुराले स्क्रिप्टमा ठूलो अर्थ राख्छ । स्क्रिप्टलाई बलियो बनाउने भनेकै यस्तै कुराहरुले हो । यी सबै स्क्रिप्टमा भयो भने त्यहीअनुसार सुटिङ हुने हो । पछि सम्पादन गर्दा दृश्यहरुलाई आवश्यकताअनुसार काँटछाट गर्ने त दोस्रो कुरा भइहाल्यो ।

तपाईं लामो समय थियटर गरेको मान्छे, चलचित्र र थियटरको अभिनय एउटै हो कि फरक हुन्छ ?

मिडियम फरक भएपछि स्वाभाविक रुपमा अभिनय पनि फरक भइहाल्छ । तर, पछिल्लो समय नेपाली थियटरको अभ्यास पनि धेरै कुरामा परिमार्जन भइसकेको छ । पहिलेजस्तो लाउड अभिनय चाहिँदैन, दर्शक र स्टेजको दूरी घट्दै गएको छ ।

प्राविधिक कुराले अभिनयमा फरक पार्छ ?

पार्छ नि । तपाईंले एकदम सही विषय उठाउनुभयो । जस्तो फिल्मको लागि एउटा इमोसनल सिन खिच्नुपर्ने भयो । कलाकार सधैँ मुड परिवर्तन गरिरहन सक्छ भन्ने हुँदैन । आज दुई दिन सट लिइयो, बाँकी भोलि वा पर्सि गरौंला भन्न पनि मिल्छ । तर थियटरमा त्यस्तो हुँदैन । थियटरमा एउटा इमोसनसँगै बग्नुपर्छ । थियटर शुरु भएपछि अन्त्यसम्म क्यारेक्टर ब्रेक गर्न पाइँदैन । जस्तो कि फिल्ममा इमोसन ब्रेक गर्न पाइन्छ । अनि अर्को कुरा, थियटरमा लाइट बलिरहँदासम्म एउटा इमोसनमा प्रस्तुत भइरहेको हुन्छ भने लाइट अफ हुनबित्तिकै फेरि अर्को इमोसनमा आउनुपर्छ । अर्थात इमोसनको ब्रेक एकदम छिटो हुन्छ ।

उसो भए तपाईंका लागि फिल्ममा अभिनय गर्न मजा कि थियटरमा ?

मलाई दुवै मनपर्छ । म नयाँ–नयाँ अभ्यास गरिरहन रुचाउने मान्छे हुँ । थियटरको आफ्नै विशेषता छन्, चलचित्रको पनि आफ्नै सुन्दरता हुन्छ । म दुवै मिडियममा काम गर्न रुचाउँछु ।

तपाईंलाई एउटा आरोप छ, आवश्यकताभन्दा बढी चलचित्र गर्यो भन्ने ! १२ महिनामा १२ फिल्म आउनु तपाईंको रहर कि बाध्यता ?
 
खासमा मेरो कर्म भनेको अभिनय हो । तर, चलचित्र जुधेर आउनु वा एकैचोटी आउनुचाँहि संयोग मात्र हो । जस्तो ०८० का चलचित्रहरु मध्ये जारी, निरफूल, दयारानी, बिहेपास त चार÷पाँच वर्षअघि खिचेका हुन् । तर, अहिले रिलिज भएपछि दर्शकहरुलाई धेरै लागेको मात्र हो ।

अहिले कति वटा चलचित्र पेन्डिङमा छ त ?

छ होला तीन÷चार वटा । तर, यी सबै डेढ–दुई वर्षअघि साइन गरेका चलचित्र हुन् । अहिले त्यसका कथामा काम भइरहेको छ । नयाँ कुनै साइन गरेको छैन । नयाँ साइन गर्ने कुरामा अचेल अलि ख्याल राख्दैछु ।

तपाईंलाई कथा मन नपरे पनि पैसाकै लागि मात्र गरेको चलचित्र कुन हो ?

त्यस्तो पैसाकै लागि मात्र त चलचित्र गरेको छैन । तर, कहिलेकाँही स्क्रिप्टमा चित्त नबुझ्दा–नबुझ्दै हतारमा सुटिङ गरेको छु ।

जस्तो ?

ठ्याक्कै नाम त नभनौँ । तर, कतिपय आइडिया मन परेको त हुन्छ, तर स्क्रिप्ट भनेको जस्तो हुँदैन । एक–दुई वटा चलचित्र छन् । जसको दुई चार दिनमा सुटिङ जानुपर्नेछ, तर आज स्क्रिप्ट हेर्दा बिजोक छ । त्यस्तो अवस्थामा केही गर्न पनि सकिँदैन । निर्माताले लगानी गरिसकेको हुन्छ । क्यामेरा आइसकेको हुन्छ । ‘क्रू’ मेम्बर सबै तयार भइसकेका हुन्छन् । त्यस्तो बेलाचाँहि मैले पनि ‘मेरो जिम्मेवारी छैन, लु जाउ’ भनेर सुटिङ गरेका छौँ ।

अब अलिकति रमाइलो कुरा गरौं, तपाईंको दैनिकी कस्तो हुन्छ ?

मेरो ठ्याक्कै यस्तो भन्ने रुटिन केही छैन । काठमाडौँ भएको बेला प्रायः बिहान साँझ खाना घरमै खान्छु । साथीभाइसँग अक्सर मण्डलामै भेट भइहाल्छ ।

परिवारलाई समय कतिबेला दिनुहुन्छ ?

यहाँ (काठमाडौँ) भएको बेला म परिवारसँगै हुन्छ । समय मिलाएर कहिलेकाँही घुम्न जान्छौँ । तर, म व्यस्त भएको कुरा मेरो परिवारले राम्ररी बुझेका छन् । म एउटा सपना देखेर हिँडेको मान्छे हो भन्ने कुरा परिवारलाई राम्रोसँग थाहा छ ।

कहिलेकाँही स्कुलले अभिभावक बोलाउँदा जान भ्याउनुहुन्छ ?

जान्छु, समय भएको बेला मिलाएर । यदि म भइनँ भने श्रीमती जान्छिन् ।

अनि तपाईंलाई बाइक चलाउन आउँदैन रे भन्छन् नि !

हा हा हा । हो, मलाई बाइक फिटिक्क आउँदैन ।

अनि गाडी ?

गाडीचाँहि आउँछ । तर, चलाउँदिन ।

तपाईंलाई मनपर्ने समकालीन अभिनेता को हो ?

सौगात मल्ल । मलाई उसको काम एकदम मनपर्छ ।

मनपर्ने अभिनेत्री ?

धेरै छन् । तर, अहिले नाम लिनुपर्दा मिरुना मगर । मलाई उहाँको व्यक्तित्व र काम गर्ने शैली मनपर्छ ।

मनपर्ने लेखक ?

नढाँटी भन्दा मैले नयाँ पुस्तक नपढेको डेढ वर्ष भयो । मनपर्ने लेखक धेरै हुनुहुन्छ, तर अहिले नामचाँहि भन्दिन होला ।

कवि नि ?

मलाई कविमा कृष्णभूषण बल मनपर्छ । उहाँको धेरै कविता पढेको छु, राम्रो लाग्छ ।

मनपर्ने खाना ?

दाल, भात र तरकारी । अनि मासुचाँहि मिसिएको हुनुपर्यो... हा हा हा ।

मदिरा मनपर्छ ?

हाम्रो समुदायमा त जन्मिदाँपनि त्यसैले चोखिने, मर्दापनि त्यसैले चोखिने हो ।

उसो भए कतिको पिउनुहुन्छ ?

मैले कहिलेदेखि पिउन थालेँ, मलाई नै थाहा छैन । सायद बच्चैदेखि पिएँ होला । तर, मलाई मैले धेरै पिएँ भन्नेचाँहि लाग्दैन । कुनैबेला निरन्तर पिइयो होला, अहिले पहिलेजस्तो छैन । अहिले अकेजनल्ली पिउँछु । हप्ता १० दिनमा एक पटक पिउँछु ।

मदिरा पिएरै कुनै चलचित्रको सुटिङ गर्नुभएको छ ?

छ । अलि पुरानो चलचित्र हो, लुट । सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान हुनुहुन्थ्यो । त्यसमा एउटा सट थियो, भट्टीमा रक्सी खाने । दाईले ‘क्रू’ मेम्बरलाई ‘कलरले चिनिहाल्छ रक्सी नै हाल्देउ’ भन्नुभएछ । स्क्रिप्टमा ‘रक्सी सट् सट् खान्छ’ भन्ने थियो । मैले खान थाले । खाएपछि थाहा भयो, साँच्चै रक्सी नै रहेछ ।

अन्त्यमा, दर्शकले हलमा गएर ‘गाउँ आएको बाटो’ किन हेर्ने ?

गाउँ आएको बाटो एकदम सरल चलचित्र हो । यसले गाउँमा आएको बाटोको कुरा मात्र गरेको छैन, एउटा बाबुआमाले सन्तान हुर्काउन गरेको दुःख र संघर्ष पनि देखाएको छ । हाम्रोमा के भाष्य छ भने फेस्टिभलमा गएको फिल्म अलिक हार्ड हुन्छ । तर, यो त्यस्तो छैन । यो सामान्य शैलीको छ । यसले हसाउँछ पनि रुवाउँछ पनि । कथा राई समुदायको भए पनि युनिभर्सल छ । दर्शक जुन समुदायको भए पनि, जहाँको भए पनि सबैलाई कनेक्ट गर्ने सक्ने यो फिल्मको सामर्थ्य छ ।

टिप्पणीहरू