प्रहरी अस्पताललाई वाणिज्य बैंकको एम्बुलेन्स र शव वाहन

प्रहरी अस्पताललाई वाणिज्य बैंकको एम्बुलेन्स र शव वाहन

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शव वाहन प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई उक्त एम्बुलेन्स र शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा आईजीपी कुँवरले बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित प्रहरी अस्पताललाई यस सहयोगले थप सहजता पुग्ने बताए । उनले कुनै पनि घटना र दुर्घटना हुँदा तत्काल उद्धार गरी अस्पताल पुर्याउनुपर्ने भएकोले सवारीसाधन निकै महत्त्वपूर्ण र उपयोगी हुने पनि बताए ।  

प्राप्त एम्बुलेन्स र शव वाहनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनको भनाइ छ । प्रहरीमा स्रोत र साधनको कमी ठूलो चूनौतीको रुपमा रहेको उल्लेख गर्दै आईजीपी कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुका साथै सामूहिक भावनाको विकास हुने पनि बताए । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले विगतमा पनि बैंक र प्रहरी संगठनबीच भएका समन्वय, सहकार्य र सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए । 

उनले यसबाट बैंक र प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास पनि व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नायव महानिरीक्षकहरु, बैंकका उपकार्यकारी अधिकृत तथा पदाधिकारीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।

टिप्पणीहरू