राति मुख्यमन्त्रीमा दाबी पेश, आज शपथको तयारी
मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीसामु उनले गएराति दाबी पेश गरेका हुन् ।
गठबन्धन दलहरु नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि दिउँसो सहमति नजुटेपछि साँझ फेरि छलफल भएको थियो । राति अबेर मुख्यमन्त्रीलगायत विभिन्न मन्त्रालयको बाडँफाँडमा सहमति जुटेपछि मुख्यमन्त्रीमा दाबी पेश गरिएको हो । सिंहलाई आजै मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गराइने बताइएको छ ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समयसीमा दिइएको थियो ।
एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका नौ र एकीकृत समाजवादीका सात जना छन् । नयाँ सरकारलाई एक–एक प्रदेशसभा सदस्य रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने भएका छन् ।
टिप्पणीहरू