कोठाभित्र बिरुवामा पानी हाल्दै सहकारीमार्फत समाजवादमा पुग्ने सपना
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलनलाई समाजवादी बाटोतर्फ डोहोर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्धघाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । त्यसका निमित्त सरकारका तर्फबाट आफूले पहलकदमी लिइरहेको जनाउँदै प्रचण्डले पार्टी कमिटीहरुले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो।
'सहकारी आन्दोलनको महत्त्व ठीक ढङ्गले बुझ्ने,जनताको दैनिक जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिन्छ', अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'तसर्थ,पार्टीका सबै तहका कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन,अनुगमन,मूल्याङ्कन, सहभागिता र नेतृत्वजस्ता विषयमा छलफल गर्ने,सहकारी संस्थाहरूमा आवद्ध भएर यस आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउन पहलकदमी लिनुपर्दछ ।'
नेपालका सहकारी संस्थाहरु सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत भएकाले संकट निम्तिएको उहाँको भनाई छ । सहकारिताको सिद्धान्त र नीतिबमोजिम सञ्चालन गर्ने कानुनी व्यवस्थाका लागि बजेटमा प्रवन्ध मिलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि जानकारी दिनुभयो ।
पछिल्लो समय सहकारी आन्दोलनले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले समस्या देखाएर आन्दोलनलाई निस्तेज पार्ने काम रोक्नुपर्नेमा विशेष जोडसमेत दिनुभएको छ ।
'सहकारी आन्दोलनमा पुँजीवादी शक्तिहरू हावी हुँदा यसले आफ्नो प्राकृतिक चरित्र मात्र गुमाएको छैन, सहकारी आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोड्ने कम्युनिस्ट क्रान्तिकारीहरूको ध्येयमा नयाँ चुनौती खडा गरिदिएको छ', उहाँले भन्नुभयो, 'मुख्यतः सहकारी क्षेत्रका समस्याहरूलाई देखाएर सहकारी आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउने प्रवृत्ति देखिएको छ, यसलाई चिर्नुपर्छ ।'
टिप्पणीहरू