वामपन्थी पत्रकारहरुको एउटै स्वर : जेठ मसान्तभित्र निर्वाचन प्रक्रिया शुरु होस्

वामपन्थी पत्रकारहरुको एउटै स्वर : जेठ मसान्तभित्र निर्वाचन प्रक्रिया शुरु होस्

नेपाल पत्रकार महासंघले पूर्वघोषित मितिमा निर्वाचन नगरेकोप्रति वामपन्थी पत्रकारहरुको असन्तुष्टि सार्वजनिक भएको छ । 

वामपन्थी दल निकट ६ वटा पत्रकार संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै महासंघलाई अनिर्णयको बन्दी बनाइएको भन्दै आपत्ति प्रकट गरेका हुन् । महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठाउँदै उनीहरुले चार बुँदे मागसमेत अघि सारेका छन् । 

असार दोस्रो साताभित्र चुनाव गर्ने महासंघको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने, संगठनका अध्यक्षहरु बीचको सहमति, शुद्धीकरण मापदण्ड र जिल्ला तथा प्रदेशको निर्णयका आधारमा सदस्यता विवाद समाधान गरिनुपर्ने, जेठ मसान्तभित्र मतदाता नामावली सार्वजनिक गरि चुनाव प्रक्रिया अघि बढाइनुपर्ने उनीहरुको माग छ । 

पत्रकार महासंघको २७ औँ महाधिवेशन सम्पन्न भइसकेको छ भने नयाँ नेतृत्व चयनका लागि जेठ २६ गते निर्वाचनको मिति तोकिएको थियो । तर, २५ गते राति अध्यक्ष बिपुल पोखरेलले विज्ञप्ति निकालेर निर्वाचन स्थगित भएको जानकारी गराएपछि विवाद चर्किएको छ । 

महासंघको मुख्य नेतृत्वको अकर्मण्यताले यस्तो स्थिति पैदा भएको जनाउँदै वामपन्थी पत्रकार संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले आज संयुक्त विज्ञप्ति निकालेर खबरदारी गरेका हुन् ।

 

टिप्पणीहरू