जीप दुर्घटनामा तीन जनाको मृत्यु, दुईको अवस्था गम्भीर

जीप दुर्घटनामा तीन जनाको मृत्यु, दुईको अवस्था गम्भीर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएको बताइएको छ । 

हिजो बेलुकी साढे ८ बजे सोलाबाङदेखि धाउने जोड्ने भित्रि सडकखण्डमा मुसिकोट खलंगाबाट बाफिँकोट गाउँपालिका –४ को छिनखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको डबल क्याप बोलेरो गाडी गिलवाङ नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका –५ का २७ वर्षी सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका –८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका –५ बड्डीचौरका १९ वर्षिय जितबहादुर कार्कीको मृत्यु भएको छ । उद्धारपछि जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका १७ वर्षीय सुजन विक, बर्दियाको ठाकुरबाबा नगरपालिका –५ का २६ वर्षी दिलीप थापा र सोही स्थानका २७ वर्षीय आर.एन. भनिने टीकाराम खनाल घाइते छन् । उनीहरुलाई थप उपचारको निम्ति नेपालगञ्ज लगिएको छ । घाइतेमध्ये दिलिप र टिकारामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको गाडि इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिङ्क कम्युनिकेसनको भएको बताइएको छ । गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

टिप्पणीहरू