'राजदूत फिर्ता बोलाउँदा ध्यान पुगेन,ओलीको कुराले अप्ठेरो पर्दैन'

'राजदूत फिर्ता बोलाउँदा ध्यान पुगेन,ओलीको कुराले अप्ठेरो पर्दैन'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको पूर्वसन्ध्यामा राजदूत फिर्ता बोलाउने निर्णयलाई सरकारको सामान्य कमजोरीका रुपमा स्वीकार गर्नुभएको छ । प्रधानमन्त्री नयाँ दिल्ली उड्नु दुई दिनअघि भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको आलोचना भैरहँदा उहाँको यस्तो प्रतिक्रिया आएको हो ।  

भारत भ्रमण सकेर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राजदूत फिर्ता बोलाउने निर्णय लिनुपूर्व पर्याप्त ध्यान नपुगेको बताउनुभयो । भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि निर्णय गर्दैगर्दा त्यसमा ध्यान पुर्याउन नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति छ । 

‘उहाँ मेरो स्वागतमा आउनु भएको थियो । र,सबै कार्यक्रममा राजदूतको हैसियतले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद भनेर आएको छु', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो,दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

त्यसक्रममा उहाँले सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीले संसद विघटनको पक्षमा राखेको धारणाले गठबन्धन अप्ठेरोमा नपर्ने पनि प्रष्ट पार्नुभएको छ । ओलीले सो धारणा सधैँ राख्दै आएकाले त्यसलाई आफूले सामान्य रुपमा लिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैँ राख्दै नै आउनुभएको छ । उहाँको धारणा,उहाँको पार्टीमा प्रस्तुत गर्नुभएको हो', प्रधानमन्त्री भन्नुहुन्छ, 'यसले गठबन्धनलाई केही असर गर्दैन । उहाँले त यो धारणा सधैँ राख्दै आउनुभएको छ । हामी सबैले बुझेको हो । आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वभाविक नै ठानेको छु ।'

त्यस्तै, उहाँले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका नेता तथा आफ्नो पार्टीका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटालाई निलम्वन गर्ने पनि बताउनुभएको छ । पार्टीले ह्वीप जारी गरिसकेपछि त्यसको उल्लङ्घन गर्नु संविधान र कानूनको मर्मविपरित भएकाले कारवाही अघि बढाउने उहाँको प्रष्टोक्ति छ ।

 

टिप्पणीहरू