जसपा नेपालको नेतृत्वमा पुन: उपेन्द्र

जसपा नेपालको नेतृत्वमा पुन: उपेन्द्र

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन भएका छन् । 

पार्टी विभाजनलगत्तै महाधिवेशनमा होमिएको सो पार्टीले स्थापना कालदेखि निरन्तर नेतृत्वमा रहेका यादवलाई नै अध्यक्ष चुनेको हो । जनकपुरमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेको थियो । 

२०६४ को पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यसयता उक्त पार्टी टुटफुट, विभाजन र एकतासँगै पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा भने उनी निरन्तर रहँदै आएका छन् ।  

अध्यक्षबाहेकका पदमा भने नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

टिप्पणीहरू