महिला मन्त्रीले बजेटमा एकलौटी गरेको गुनासो

महिला मन्त्रीले बजेटमा एकलौटी गरेको गुनासो

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीमाथि बजेटमा पन्पक्ष गरेको आरोप लागेको छ । प्रमुख प्रतिपक्ष नेपाली काँगेसका सांसदले संसदमा आज उक्त कुरा जोड दिएर उठाएका हुन् । 

प्रतिनिधि सभा बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसहित विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद राजेन्द्र केसीले महिला मन्त्रीको गृहजिल्ला सुनसरीमा मात्र बजेट छुट्याइएको भन्दै असन्तुष्टि जनाए । 'महिला मन्त्रालयको बजेट सुनसरीमात्रै देखिएको छ । १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ । त्यसमा सबै सुनसरी सुनसरी मात्रै देख्छु', उनले भने ।

विश्वभर महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम गरेको उदाहरण भएपनि नेपालमा भने त्यस्तो नदेखिएको सांसद केसीको गुनासो छ । महिला मन्त्रीले आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिएकोप्रति उनको उक्त गुनासो आएको हो । 

'विश्वमा महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम भएका छन्', उनले भने, 'तर नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम भएन । आफ्नो जिल्लालाई मात्रै प्राथमिकता दिने काम गर्नुभयो ।’

सामाजिक सुरक्षा भत्ताअन्तर्गत १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको सांसद केसीको सुझाव छ । असहाय, अशक्त, गरिबलाई मात्रै भत्ता दिने कार्यविधि बनाउन सके उक्त बजेट आधा घट्नसक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । 

'सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेट छ । त्यो बाँड्नु परिहाल्योे । सामाजिक सुरक्षा भत्ता पनि परिसकृत गर्न जरुरी छ । त्यस्तो गर्दा १ खर्ब १६ अर्बको आधा हुन सक्छ', केसीले भने, 'सामाजिक सुरक्षा भत्ता असाहय र दु:खीलाई दिने हो, उमेर भएकालाई दिने होइन । तर काठमाडौंमा महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको छ ।'

 

टिप्पणीहरू