मस्कोमा चार नेपालीको अस्तु, सात पुगेपछि नेपाल पठाउने तयारी

मस्कोमा चार नेपालीको अस्तु, सात पुगेपछि नेपाल पठाउने तयारी

रुस–युक्रेन युद्धमा बितेकामध्ये चार नेपालीको शव रुसमा जलाइएको छ । रुसी सेनामा भर्ना भएर युद्धमा बितेका उनीहरुको शव परिवारको सहमतिमा रुसमै जलाइएको बताइएको छ । बाँकी तीन जनाको पनि शव जलाउने तयारीमा रहेकाले सात जनाको अस्तु केही समयपछि एकैपटक नेपाल पठाउन लागिएको बुझिएको छ ।

मृतक सात जनाको अस्तु विशेष भाँडोमा राखेर नेपाल पठाइने छ । मस्कोस्थित नेपाली दूतावासले अस्पतालमा रहेका चार वटा शवलाई परिवारको सहमतिपछि जलाउने अनुमतिका लागि त्यहाँको विदेश मन्त्रालयसँग पत्राचार गरिसकेको बताइन्छ । तर  मन्त्रालयले उक्त पत्राचारलाई रक्षा मन्त्रालय हुँदै रुसी सेनासम्म पुर्याउने प्रक्रिया निकै लामो भएकाले बितेको पाँच महिनादेखि शवलाई अस्पतालको फ्रिजमा राखिएको हो ।

रुसमा हालसम्म मारिएकाको संख्या दुई दर्जन बढी पुगेको बताइन्छ । युक्रेनी सेनको कब्जामा झण्डै आधा दर्जन रहेको जानकारी दिइएको छ । काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका एक जना अधिकारीका अनुसार मारिएका नेपालीको क्षतिपूर्तिका लागि छ जनाको प्रक्रिया अघि बढेको छ । त्यसको निम्ति रुसी भाषामा आवश्यक कागजात अनुवाद गरेर रुस सरकारलाई बुझाइसकिएको छ । 

क्षतिपूर्ति रकम बीमा र सरकारले दिने दुई किसिमको भएकाले प्रोसेसमा रहेको जानकारी रुसी विदेश मन्त्रालयले मस्कोस्थित दूतावासलाई मौखिक रुपमा दिएको हो । पहिले पाँच जनाको र पछि एक जना गरेर छ जनाको क्षतिपूर्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्छ । 
 
युक्रेनमा युद्धबन्दीको रुपमा रहेका नेपालीलाई हतियारको रुपमा युक्रेनले रुससँग बार्गेनिङ गर्ने भएकाले उनीहरु सजिलैसँग छुट्ने सम्भावना नरहेको मस्कोस्थित नेपाली दूतावासका एक जना कर्मचारीले बताए । 

यस्तै अवस्था उता इजरायल र हमासबीचको लडाईंमा हमासले बन्धक बनाएकाहरुको हकमा पनि लागु भएको छ । नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ । तर इजरायलले हालै चार जना बन्दीलाई छुटाए पनि जोशी त्यसमा परेका छैनन् । हमासले बन्धक बनाएकालाई गाजा क्षेत्रबाट बाहिर नलगेको इजरायली अधिकारीहरुको विश्वास छ ।

टिप्पणीहरू