'झ्याप भएर' अन्तर्वार्ता दिने माननीयद्वारा संसद भवनभित्र बार खोल्न सुझाव

'झ्याप भएर' अन्तर्वार्ता दिने माननीयद्वारा संसद भवनभित्र बार खोल्न सुझाव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारमा बन्दै गरेको संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न देशको उदाहरण दिएर पर्यटक विकासका लागि संसद भवनमा बार आवश्यक पर्ने तर्क गरे । विदेशी पाहुना नेपाल आउँदा सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने उनको भनाई छ ।

‘म सन् २००६ तिर अमेरिकाको कंग्रेसम्यानको अफिसमा गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने पाहुना अथवा टुर गर्ने पर्यटकहरूका लागि त्यहाँ बार बनाइदिँदो रहेछ, डेमोक्र्याट हरुले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् ।

त्यहाँ ड्रिंक्स गर्न पाइन्छ', सांसद बजगाईंले भने, 'अधिकांश माननीयज्यूहरु मदिरा पिउनुहुन्छ, म लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ । त्यसको लिमिटेशन हुन्छ । अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्न बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे । यो पर्यटकीय हिसाबले आवश्यक छ ।'

संसद भवनभित्र बार खोल्न सुझाव दिने बजगाईं पर्यटन व्यवसायी पनि हुन् । अंग्रेजी र नेपाली भाषा मिसाएर बोल्ने उनले केही समयअघि रक्सी पिएर टेलिभिजन अन्तर्वार्ता दिएको भन्दै आलोचना भएको थियो ।

टिप्पणीहरू