नेताकी छोरीका निम्ति अदालतको आदेश अलपत्र

नेताकी छोरीका निम्ति अदालतको आदेश अलपत्र

रोल्पाको एक स्थानीय तहले सम्मानित अदालतको आदेशविरुद्ध अर्को आदेश जारी गरेको छ । सुनिल स्मृति गाउँपालिकाले शिक्षक सरुवासम्बन्धी उच्च अदालतको आदेशविरुद्ध अर्को आदेश दिएको हो । 

घटना विवरणअनुसार रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका–३ मिझिङकी विपना घर्तीमगर (विष्ट) शिक्षक सेवा आयोग पास गरी २०७९ चैत २३ गते राष्ट्रिय आधारभूत विद्यालय लुंग्री गाउँपालिका–३ सिमगिठामा पदस्थापन भइन् । आफ्नै गाउँको विद्यालय सरस्वती आधारभूत विद्यालयमा समान तह र श्रेणीको शिक्षक पद रिक्त भएपछि सरुवाका लागि ०८० पुसमा निवेदन दिइन् ।

उनलाई सरुवा भई जाने र आउने दुवै विद्यालयका व्यवस्थापन समितिले सहमति पनि दिए । यसैगरी, गाउँपालिकाले समेत अनुमति दियो । सुनिल स्मृति गाउँपालिकाले भने उनको निवेदन दर्ता गर्न मानेन । उनले शिक्षा विकास तथा समन्वय इकाइ रोल्पामा निवेदन पेश गरे पनि लामो समयसम्म सरुवा हुन पाइनन् । 

कानुनी उपचारका लागि उच्च अदालत तुल्सीपुरमा रिट दायर गरिन् । उच्चको जेठ १७ को आदेशबमोजिम शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जेठ २२ गते सरुवा भएको विद्यालयमा हाजिर हुन जान पत्राचार गर्‍यो । उनी आफ्नै गाउँको विद्यालयमा पुगेर जेठ २३ र २४ गते हाजिर भइन् । सोको जानकारी विद्यालयले राष्ट्रिय किताबखाना काठमाडौँ, कर्मचारी सञ्चयकोष काठमाडौँ, नागरिक लगानी कोष काठमाडौँ, शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुर, लुंग्री गाउँपालिका कार्यालय र सुनिलस्मृति गाउँपालिका कार्यालयलाई दियो । 

यसैबीच, जेठ २४ को मिति राखी २५ गते सुनिल स्मृति गाउँपालिकाले हाजिरी नगराउन भनी सरस्वती प्राथमिक विद्यालयलाई पत्राचार गर्‍यो । अदालतको आदेशले सरुवा भएकी घर्तीमगरलाई गाउँपालिकाले पुनः हाजिर गर्न नदिएपछि उनी अहिले मिडिया र न्यायालयको शरणमा पुगेकी छन् । 

‘नेपालको प्रचलित कानुनले मात्र हैन सामाजिक न्यायको आँखाले हेर्दा पनि म जनजाति समुदायको महिला, आफ्नै गाउँमा दरबन्दी खाली भएपछि सरुवा भएर आउन पाउनु मेरो अधिकार हो तर गाउँपालिकाले अधिकारमाथि कुठाराघात गर्‍यो,’ घर्तीमगरले भनिन् । 

सो विद्यालयमा नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समिति सदस्य हरि कुँवरकी छोरी आउन चाहेकोले गाउँपालिकाले यस्तो खेल खेलेको स्थानीय मेघनाथ विष्टले बताए । सुनिल स्मृति गाउँपालिका–६ गजुल घर भई प्युठान विवाह भएकी नेताको छोरीलाई यहाँ ल्याउन खोजिएको उनले बताए । 

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सांसद भइसकेका राजकुमार कुँवरका दाइ हरिकी छोरी प्युठानकी स्थायी बासिन्दा हुन् । ‘अदालतको आदेश नमान्ने कस्तो जंगली राज हो ?’ स्थानीय खिमचन्द्र विष्टले भने । स्थानीयलाई अवसर नदिएर प्युठान जिल्लावासीलाई सरुवा गरी ल्याउने प्रपञ्चस्वरूप यस्तो हर्कत भएको उनको भनाइ छ । 

सुनिलस्मृति गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको स्थानीय तह हो । त्यहाँ निर्माण व्यवसायीसमेत रहेका मणिराम बुढाथोकी अध्यक्ष छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू