माओवादीमा मनोनयन प्रथा अन्त्य गर्ने प्रचण्डको घोषणा

माओवादीमा मनोनयन प्रथा अन्त्य गर्ने प्रचण्डको घोषणा

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कुनै पनि निकायमा नेतृत्व चयन मनोनयनबाट नभई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुने बताउनुभएको छ । 

अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले विधान अधिवेशनको निर्णयअनुसार आगामी दिनमा पार्टी र जनसंगठनहरुमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने दाबी गर्नुभएको हो । अब मनोनयन प्रथा अन्त्य हुने प्रचण्डको भनाई छ ।   

'विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ', अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।' 

उहाँले कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व माओवादीले गर्न सक्नुपर्नेमा जोडसमेत दिनुभयो । 'हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ', प्रचण्डले भन्नुभयो, 'हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।' 

माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।'

आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै अध्यक्ष प्रचण्डले नेतृत्वप्रति जनताको भरोसा छ भन्नुभयो । उहाँले थप भन्नुभयो, 'माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ ।'

सामाजिक सञ्जालमा धेरैखालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै उहाँले तथ्यमा आधारित भएर उच्च मनोवलका साथ काम गर्न विद्यार्थी नेतालाई निर्देशन पनि दिनुभयो । उच्च मनोवलका साथ एकताबद्ध भएर अगाडि बढेमा आगामी निर्वाचनमा अखिल (क्रान्तिकारी) पहिलो हुने प्रचण्डको विश्वास छ ।
 

टिप्पणीहरू