अर्थमन्त्रीले निर्धा सांसदलाई पेलेको अमरेशकुमारको आरोप

अर्थमन्त्रीले निर्धा सांसदलाई पेलेको अमरेशकुमारको आरोप

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पहुँचवालाको प्रभावमा अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गरेको आरोप लगाएका छन् । केही व्यापारीहरुको इन्ट्रेस्टमा अर्थमन्त्रीले बजेट बनाएकोसमेत उनले दाबी गरे । 

आज प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले बजेट निर्माण प्रक्रियामा अर्थमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । माओवादी केन्द्रका ३२ जना सांसदलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको उनको आरोप छ । 

'यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजट बन्छ बन्नु दिवास्वप्न हो । किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ', उनले भने । 

सांसद सिंहले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको जनाउँदै असन्तुष्टि जनाए । ‘नियम, कानून मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि क्षम्य छ', आक्रोशित उनले भने, 'यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीेको इन्ट्रेष्टमा !'

अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि उनले गरे । 'हामी जस्ता निर्धा सांसदलाई उहाँहरुले देख्नुहुन्न', सिंहको भनाई छ ।

टिप्पणीहरू