सशस्त्रमा खानेकै ठूलो स्वर

सशस्त्रमा खानेकै ठूलो स्वर

जमुनाहा नाकाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई देख्नेबित्तिकै स्थानीयले आजकल सिपाही हो कि तस्कर व्यापारी भन्न थालेका छन् । उक्त नाकाबाट ब्युटिपार्लरका सामग्री चोरी पैठारी गर्न निरीक्षक अञ्जनजंग शाहले बर्दीको आड लिएका छन् ।

कोहलपुर घर भएका उनलाई यो कार्यमा प्रेम जेठाराले साथ दिँदै आएका छन् । भारतबाट त्यसरी ल्याइएका सामग्रीहरू कर्णाली प्रदेशका विभिन्न जिल्ला र काठमाडौंमा कार्गो गरी पठाउने गरिएको छ । ती सामग्री घरबारी टोलको बाटो हुँदै औद्योगिक क्षेत्रभन्दा माथि नेपालगञ्ज–कोहलपुर सडक खण्डको सुर्खेत रोडस्थित एक गोदाममा भण्डारण गरिँदै आएको छ ।

शाहले आफूलाई कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भतिज हुँ भन्दै फूर्ति लगाए पनि गोरु बेचेको साइनोसमेत छैन । शैलेन्द्रकुमार श्रेष्ठ सशस्त्र प्रहरी प्रमुख हुँदा पथलैयाको पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध छानबिन भएको थियो । कोषराज वन्त प्रमुख भएपछि सोही छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा हिनामिना गरिएको रकम असुलउपर गरी बानी सुधार्न नसिहत दिइयो । तर उनको बानी अझै सुध्रिएको रहेनछ । 

उनले यस्तरी छुट पाएको थाहा पाएपछि डिएसपी पनि त्यस्तै पारामा रमाउन हौसिएको सुनिन्छ । नेपालगञ्ज–१८ कारकाधो नजिकै घर भएका ४२ नम्बर गण कोहलपुरमा कार्यरत सि.सं. ७ बेसिकको सहायक प्रहरी निरीक्षकबाट जागिर थालेका धर्मेन्द्र बम पनि यस्तै धन्दामा सरिक हुन थालेका छन् । बम नेपालगञ्जमा मोबाइल पसल सञ्चालन गरी बसेका डम्बर चन्दसँगको साँठगाँठमा ती सम्बद्ध सामान भारतबाट चोरी पैठारी गर्ने कार्यमा सरिक भएको उजुर छ । उनले नेपालगञ्ज बिपी चोकका सुनिल सेनलाई पनि भन्सार छलेर विद्युतीय सामान चोरी पैठारी गर्न सहयोग पुर्‍याउँदै आएको समेत बजारमा धेरैलाई थाहा छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू