सांसदले पढ्ने पत्रिका किन कटौती ? भन्दै संसदमा प्रश्न

सांसदले पढ्ने पत्रिका किन कटौती ? भन्दै संसदमा प्रश्न

सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले अन्य कर्मचारीहरुले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भएपनि संसदका कर्मचारीहरुले नपाएकोमा असन्तुष्टि जनाए । सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा बस्नु दुखद कुरा भएको उनको भनाई छ ।

‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसदको कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर,जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरुले पाएका छन्, त्यो सुविधा संसद सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहीँ हुँदैन', सांसद पन्तले भने, 'उहाँहरुले कोभिड यता ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुनअनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि !'

संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारसमेत कटौती भएको भन्दै उनले मुलुकको आर्थिक अवस्था त्यस्तो हालतमा पुगिसकेको हो ? भनी प्रश्नसमेत गरे ।

'सांसदहरुलाई पढ्न भनेर त्यहाँ अखबार राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ?', पन्तले सोधे, 'सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नुभएन । उनीहरुलाई अब त दिन थालियोस् ।’

टिप्पणीहरू