बोलीमा अडिन नसकेको भन्दै प्रधानमन्त्रीलाई पद त्याग्ने सुझाव
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका सांसद साहले प्रधानमन्त्री प्रचण्ड आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने जिकिर गरे । प्रधानमन्त्रीले यसअघि संघमा ३ करोडभन्दा घटीको योजना नरहने बताएका थिए । तर, त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताएका हुन् ।
'सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अव संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन । सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईको कुराको उल्लंघन भयो भनेर सोध्न चाहन्छु', साहले भने, 'यदि कुनै मन्त्रीले तपाईले भनेको कुरा मानेनन भने उसलाई बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन । त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास उठाउन जरुरी छ ।’
नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम भैरहेको भन्दै उनले विनियोजित बजेटप्रति पनि चर्को असन्तुष्टि जनाए । नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको जनाउँदै उनले त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
‘हामीले हरिराखेको छौं–यो बजेट पहुँचवालाको भएको छ । यो नेपाली जनताको राजश्व होइन ? जनताले तिरेको कर होइन ? हो भने देशभरी जानु पर्दैन ?', सांसद साहको प्रश्न छ, 'पहुँचवाला नेता र उसको आसेपासे कार्यकर्ता र मन्त्रीहरुको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने जो स्थिति छ । त्यसको अन्त्य हुन्छ कि हुँदैन ?'
टिप्पणीहरू