अर्थमन्त्रीदेखि मुख्यमन्त्री सबै शहरमा, गाउँमा खानेपानीको हाहाकार
चर्को खडेरीका कारण यो वर्ष रोल्पाको गंगादेव गाउँपालिका–६, देउलटाकुरा र बेरचौरमा ‘खानेपानी’को हाहाकार बढी छ । गाउँमा दशकौँदेखि पानीको अभाव हुँदा स्थानीयहरू पोखरी वा कुवाको दूषित पानी पिउन बाध्य छन् ।
पानीको समस्या कतिसम्म छ भने, यहाँका ‘स्थानीयबासी र गाईभैंसी’ ले हिजोआज एउटै पोखरीको धमिलो पानी पिइरहेका छन् । टोलछेउको परम्परागत कुवा दुई महिनाअघि सुकेपछि देउलटाकुरा र बेरचौरका ३५ घरपरिवार ‘स्वच्छ खानेपानीको पहुँच’बाट टाढै छन् ।
स्थानीय युवा विमलकुमार खड्का भन्छन्, ‘देउलटाकुरा र बेरचौरका हामीहरू धेरै सालदेखि काकाकुल जीवन बाँचिरहेका छौँ। बिहान सुति–उठ्दादेखि नसुत्दासम्म पानीकै खोजीमा भौँतारिरहेका हुन्छौँ ।’
देउलटाकुरा र बेरचौरमा खानेपानीको समस्या खडेरी वा धारामा पानी नआउँदा उब्जिएको होइन । यो वर्षौँदेखिको समस्या हो ।
निर्वाचनका बेला गाउँमा खानेपानी ल्याइदिने बाचा गरेपनि ‘सांसद–मन्त्री वा स्थानीय तहका जनप्रतिनिधि’ले आजसम्म समाधानको कुनै उपाय नै खोजेनन् । उनीहरू बरु अन्य योजनाको नाममा कमिसन खानमै लागे । तर काकाकुल गाउँका ३५ घरपरिवारले भोग्दैआएको पानीको चरम अभावबारे कहिल्यै सोचेनन् ।
स्थानीय कल्पना खड्काका अनुसार गाउँलेहरूले बाह्रैमास ‘कहिले कुवा त, कहिले बाटोछेउको पोखरी’को धमिलो पानी पिइरहेका छन् । त्योपनि ४० मिनेट हिँडेर दैलोसम्म पानी बोक्नुपर्ने बाध्यता छ । गाग्री र जर्किनमा पानी बोक्नका लागि महिला र बालबालिकाहरूले निकै दुःख भोगिरहेका छन् ।
हुन त, गाउँको फेदमा एउटा खानेपानीको पाइप छ । त्यो पाइपभित्रको पानी ट्याङ्कीबाट जम्मा हुन्छ । तर त्यो पानीले झण्डै आधा घण्टामा एउटा गाग्री मात्रै भरिन्छ ।
‘१५ मिनेट हिँडेर पानी भर्न जाँदा आधा घण्टामा पनि एउटा गाग्री भरिँदैन । त्योपनि पानी भर्नेहरूको लामै भीड हुन्छ’, स्थानीय युवा खड्काले भने, ‘एक–दुई घण्टा पालो कुरेर एउटा सानो गाग्री भरिन्छ भने त्यसलाई के धारा भन्नू ! त्यसैले पोखरीको खाइरहेका छौँ ।’
‘दुषित पानी छ’ भन्ने जानकारी भएपनि अर्को विकल्प नहुँदा उनीहरूले पोखरीको पानी पिउनुपरेको र दुषित पानीकै कारण स्वास्थ्यसम्बन्धी समस्याहरू झेल्नुपरेको छ ।
खानेपानीको लागि अर्थमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रदेशकै स्वास्थ्यमन्त्री दीपेन्द्र पुन र गाउँपालिका अध्यक्ष हरिबहादुर पुनलाई पटकपटक आग्रह गर्दापनि अहिलेसम्म सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन् ।
घरघरमा खानेपानीको धारा हुनुपर्ने बेला देउलटाकुरा र बेरचौरका नागरिकसँग ४० मिनेट हिँडेर पोखरीमा जमेको फोहोर पानी बोक्नुपर्ने, पिउनुपर्ने बाध्यता रहीआएको स्थानीय तिला वली बताउँछिन् । ‘खानेपानीको संकटले गाउँ छोडेर भाग्नुपर्ने अवस्था आइसक्यो । तरपनि हाम्रो समस्या कसैले देख्दैन,’ उनले भनिन् ।
नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि देउलटाकुरा र बेरचौरका ३५ घरपरिवारले बाटो छेउको दूषित पानी पिइरहेका छन् ।
टिप्पणीहरू