राप्रपा महिला अध्यक्षद्वारा पार्टी परित्याग, भोटरसमेत नरहेको घोषणा

राप्रपा महिला अध्यक्षद्वारा पार्टी परित्याग, भोटरसमेत नरहेको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावलले पार्टी परित्याग गरेकी छन् । महामन्त्री राजेन्द्र गुरुङलाई आज राजीनामा पत्र बुझाउँदै उनले महिला संगठनको अध्यक्षसहित पार्टीको साधारण सदस्य र भोटरसमेत नरहेको घोषणा गरेकी हुन् । 

अञ्जना २०७९ असार २ गते महिला संगठनको तदर्थ समिति अध्यक्ष मनोनित भएकी थिइन् । राजीनामा पत्रमा उनले आफूले संगठनको नेतृत्व गरेपश्चात् ५२ जिल्लामा अधिवेशन सम्पन्न गरेको तर, सहकर्मीहरुबाटै असहयोग भएको गुनासो गरेकी छन् । यसबारे पार्टी नेतृत्वलाई जानकारी गराउँदा प्रेरणा प्राप्त हुनुपर्नेमा उल्टै हतोत्साहित बनाएको जनाउँदै रावलले राजीनामाको निर्णय लिएको बताएकी छन् । 

‘संगठनलाई अगाडि बढाई रहँदा मेरा कारणले मेरा सहकर्मी साथीहरुलाई मसँग सहकार्य गर्न असहज पैदा भइरहेको र उहाँहरुको असहयोग रहेको बारेमा पार्टी नेतृत्व र जिम्मेवारी पदाधिकारीहरुलाई बारम्बार जानकारी गराउँदा पनि उत्साह, हौसला र प्रेरणा प्राप्त गर्नुपर्ने ठाउँमा हत्तोत्साहित हुने वातावरण निर्माण भएको हुँदा महिला संगठनलाई सोचेजस्तो ढंगबाट अगाडि बढाउन र संगठनलाई उचाई दिन असमर्थ भएकोले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै पार्टीबाट बिदा हुने निर्णय गरेको छु’, राजीनामा पत्रमा भनिएको छ ।

  

अञ्जनाले कोही कसैप्रति कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह र गुनासो नरहेको उल्लेख गर्दै थप लेखेकी छन्, ‘मैले खोजेको आदर्श, निष्ठावान पार्टी, सिद्धान्तवादी पार्टी विस्तारै मख्खिदै गएकोले म मा एक प्रकारको बेचैनी थियो । म मा व्यक्तिगत मोह र आकांक्षा केही थिएन । त्यो उकुस मुकुसबाट बाहिर निस्किनको लागि यो अप्रियजस्तो लाग्ने निर्णय लिन बाध्य भएकी छु ।’

टिप्पणीहरू