लुम्बिनी प्रादेशिक अस्पतालभित्रको रामकहानी

लुम्बिनी प्रादेशिक अस्पतालभित्रको रामकहानी

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका निवर्तमान मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. सुदर्शन थापाको ठाउँमा डा. इन्द्र ढकाललाई ल्याइएको छ । गत जेठ १९ गते बसेको लुम्बिनी प्रदेश क्याविनेट बैठकले नियुक्तिसम्बन्धी उक्त निर्णय गरेको हो । 

नवनियुक्त डा. ढकाल यसअघि पनि अस्पतालको मेसु थिए । उनले अस्पतालको भौतिक पूर्वाधारमा सुधार तथा व्यवस्थापकीय क्षेत्रमा पनि केही प्रभावकारी कदम चालेका थिए । तर, राजनीतिक पूर्वाग्रह राखेर त्यहाँबाट धपाइएको भनिएका ढकाललाई गठबन्धन फेरिएर नयाँ सरकार बनेसँगै पुनः प्रादेशिक अस्पतालमा फर्काइएको हो । 

राजनीतिक आग्रह–पूर्वाग्रहले ग्रस्त प्रादेशिक अस्पतालमा डा. थापाको १४ महिने कार्यकाल भने विवादरहित रहेन । उनीमाथि प्रदेश सरकारबाट प्राप्त हुने बीमा बापतको रकम समयमा भुक्तानीका लागि यथेष्ट पहल नगरेको, कर्मचारी भर्नामा एकलौटी गरेको जस्ता आरोप लागिरह्यो  । खासगरी प्रशासन प्रमुख राजन केसीसँग मिलेर विधिविपरित नासु, खरदार र कार्यालय सहयोगी भर्ना गरेको र अस्पताललाई आसेपासे भर्ति केन्द्र बनाएको आरोप उनीमाथि लागेको थियो । 

त्यस्तै, करारमा स्टाफ नर्स नियुक्त गर्दा पनि त्यसैगरी विधि लत्याएको भन्दै एउटा पक्ष डा. थापाको चर्को आलोचनामा खनिएको थियो । उनले नर्सिङ इञ्चार्ज ज्योति पौडेल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधि हरि बिष्टसँग साँठगाँठ गरेर अस्पतालमा बेथिति निम्त्याएको आरोप लागिरहँदा अर्को पक्षले भने त्यस्तो हुँदै होइन भनेको छ । बिधिविपरित कर्मचारी भर्ति गरेको आरोपमा कुनै सत्यता नरहेको थापा पक्षको दाबी छ ।
 
यता, गत वर्ष साउनमा प्रशासन प्रमुख केसीको स्वास्थ्य तालिम केन्द्रमा सरुवा भएपछि लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत आठौँ तहका कृष्ण गौतम भदौ एक गते उनको ठाउँमा हाजिर हुन आएका थिए । तर, उनलाई पनि राजनीतिक आग्रहकै कारण जिम्मेवारी नदिई राखिएको र बरबुझारतको मिति टारेर पुनः केसीलाई नै फर्काएको भन्नेहरुले त्यसमा पनि मेसु थापाकै नाम जोडेर चर्चा गरेका छन् । 

अहिले प्रादेशिक अस्पताल प्रदेशको गौरवको आयोजनामा परेपछि नयाँ भवन बनाउन प्रारम्भ भएकोले त्यहाँका कतिपय पुराना संरचना भत्काइएको अवस्था छ । 

त्यस्तै, ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा पनि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । असार १ गतेदेखि घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने जनाइएको छ । यो सुविधाअन्तर्गत सेवाग्राहीले मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।

अस्पताल सुधारको यो सबै प्रयासमा पनि दुई मेसुको पक्ष–विपक्षमा लाग्नेहरुबीच होडबाजी देखिन्छ । एकथरीले डा. ढकालको आगमनसँगै यी कुरा शुरु भएको भनी प्रचार गरिरहँदा अर्को पक्षले चै थापाकै कार्यकालमा काम शुरु भएको बताइरहेका छन् ।

टिप्पणीहरू