विद्या भण्डारीजस्तै योग्य बन्न महिलाहरुलाई काँग्रेस सभापतिको सल्लाह
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । देउवाले नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
समावेशी, समानुपातिक व्यवस्थाका कारण अहिले राजनीतिमा महिला सहभागित बढेको उल्लेख गर्दै उहाँले महिलाहरुले आफ्नो भूमिकालाई अझ बढी प्रभावकारी र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ’, सभापति देउवाले भन्नुभयो ।
काँग्रेसभित्र महिला–महिलाबीच नै अन्तर्घात हुने गरेको जनाउँदै सभापति देउवाले यसबाट मुक्त हुन् सकेको खण्डमा अझ बढी मौका मिल्ने बताउनुभयो । ‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तर्घातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
अहिले संसारभर महिला अधिकार र समावेशीकरणको आवाज उठिरहेको र नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपति भैसकेको जनाउँदै देउवाले पार्टीका महिला नेताहरुलाई योग्य र सक्षम बन्न सुझावसमेत दिनुभयो । उहाँले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह पनि गर्नुभयो ।
टिप्पणीहरू