गिरीबन्धुको फाइल खोल्न एमाले अध्यक्षलाई कांग्रेस महामन्त्रीको चुनौती
झापास्थित गिरीबन्धु टि-इस्टेटको जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच फेरि आरोप-प्रत्यारोपको सिलसिला शुरु भएको छ।
गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने केपी ओली नेतृत्वको तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले उल्ट्याईदिएपछि दुई ठूला दलका मुख्य नेताहरु एक-अर्कामाथि दोषारोपणमा उत्रिरहँदा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आज फेरि यो विषय उप्काएका हुन् ।
ओलीले केही समयअघि आफ्नो पालामा कुनै अनियमितता नभएको दाबी गर्दै बरु काँग्रेसले कमिशन खाएर उक्त जग्गा बेचेको आरोप लगाएका थिए । पटक-पटक त्यसको जवाफ दिँदै आएका शर्माले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त आरोप प्रमाणित गर्न खुला चुनौती दिए । उनले हिम्मत भए फाइल खोलेर काँग्रेसलाई दण्डित गर्नसमेत भनेका छन् ।
जग्गा सट्टाभर्नासम्बन्धी विभिन्न समयमा भएका निर्णय र त्यसबेला को सरकारमा थियो भन्ने विवरणसमेत प्रस्तुत गर्दै उनले कांग्रेसले एक टुक्रा पनि जग्गा हिनामिना नगरेको जिकिर गरेका छन् । ओलीले आवेगले प्रश्न उठाएको भन्दै महामन्त्री शर्माले त्यसको जवाफ आफूहरुले विवेकले दिने बताए ।
०५२ सालमा एमालेकै सरकार र भूमिसुधार मन्त्री एमालेको हुने । २०६० सालको सूर्यबहादुर थापा सरकारमा भूमिसुधार मन्त्री काँग्रेसको नहुने,०७८ सालमा केपी ओलीकै टोटल सेट हुने,अनि गिरीबन्धुमा निर्णय गर्दै गर्दा यही तीनवटा सरकारको पालामा हुने ?
'०५२ सालमा एमालेकै सरकार हुने,भूमिसुधार मन्त्री एमालेको हुने । २०६० सालको सूर्यबहादुर थापा सरकार हुने,भूमिसुधार मन्त्री काँग्रेसको नहुने, ०७८ सालमा केपी ओलीकै टोटल सेट हुने,अनि गिरीबन्धुमा निर्णय गर्दै गर्दा यही तीनवटा सरकारको पालामा हुने', उनले भने, 'काँग्रेस नै नभएको दोष काँग्रेसमाथि लगाउने,हामी चुप लागेर सुन्नुपर्ने ? उहाँको आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि पर्दैन ।'
यसअघि एमाले अध्यक्ष ओलीले भने गिरीबन्धुको ९१ बिगाहा जग्गा कांग्रेसको पालामा कमिशन खाएर बेचिएको दाबी गरेका थिए । त्यसको जवाफमा शर्माले भने, 'भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरीबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाहा जग्गा बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो ।'
गिरीबन्धुकै कुराले यसअघि काँग्रेसका अर्का महामन्त्री गगन थापा र ओलीबीच पनि यस्तै आरोप-प्रत्यारोप चलेको थियो ।
टिप्पणीहरू