१५ वर्षमा, १२ हजार युवा ‘बाकस’ मा

१५ वर्षमा, १२ हजार युवा ‘बाकस’ मा

‘गयौ जहाजमा, फर्कियौ बाकसमा..’ बोलको नेपाली लोक गीतलाई चरितार्थ गर्दै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने नेपाली श्रमिकको दर्दनाक तथ्यांक उजागर भएको छ । 

युवा श्रमिकमध्ये १५ वर्षको अवधिमा १२ हजारले विदेशमै ज्यान गुमाएका छन् । तीमध्ये एक हजार तीन सय १५ जनाले आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । वैदेशिक रोजगार बोर्डले यसबीच खाडी र मलेसियामा ११ हजार ७ सय ६० जना नेपालीको ज्यान गएको तथ्य उजागर गरेको छ । यो तथ्यांकले श्रम गन्तव्य मुलुकमा मृत्यु हुने नेपालीको संख्या बर्सेनि १ हजार देखाउँछ ।

१२.६९ प्रतिशतको सडक दुर्घटना र ६.५९ प्रतिशतको कार्यस्थलमै ज्यान गएको छ । पीडित परिवारले क्षतिपूर्ति पाउनसमेत निकै सास्ती खेप्नुपरेको छ । यसरी मृत्युवरण गरेका १२ हजारमध्ये सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएका दुई हजार दुई सय ६९ श्रमिकका परिवारले मात्र क्षतिपूर्ति पाउन सकेका छन् । 

दुर्घटनामा बितेकामध्ये ८१ प्रतिशत परिवारले क्षतिपूर्तिसम्म नपाएको दुःखद अवस्था छ । दुई हजार तीन सय २८ को मृत्यु प्राकृतिक रूपमा भएको छ । दुई हजार पाँच जनाले हृदयाघात र मुटुजन्य रोगबाट मृत्युवरण गरेका छन् । आत्महत्या गर्नेको संख्या एक हजार तीन सय १५ छ । यस्तै दुई सय २३ जनाले कोभिडबाट ज्यान गुमाउनुपरेको छ । मृत्युको ठोस कारण पत्ता नलागेका मात्रै तीन हजार तीन सय २० छन् । खाडी मुलुकमा पुग्नेमध्ये कामको बोझ, चर्को तापक्रम, मुटुजन्य रोग, हृदयाघात मृत्युको कारण बनेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू