प्रधानमन्त्री कार्यालयमा पनि डिजीकै स्वर चर्को

प्रधानमन्त्री कार्यालयमा पनि डिजीकै स्वर चर्को

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो अपरान्ह केही मन्त्री,सचिव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सिंहदरबारमा डाकेर छलफल गर्नुभयो । उहाँले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आकस्मिक छलफल गर्नुभएको बताइन्छ । 

हिजोको छलफलमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ,मुख्य सचिव बैकुण्ठ अर्याल, पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, राजश्व सचिव डा.रामप्रसाद घिमिरे,श्रम सचिव घनश्याम उपाध्याय,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए । 

पोखरा डेढ वर्ष र भैरहवा विमानस्थल दुई वर्षअघि उद्घाटन भए पनि सञ्चालनमा आउन सकेको छैन । संसदमा सांसदहरुले विमानस्थल सञ्चालन हुन नसकेको र विदेशी ऋण चुक्ता गर्ने योजनाबारे सरकारलाई सोध्न थालेपछि प्रधानमन्त्रीले हिजो छलफल राख्नुभएको बुझिएको छ ।

‘महानिर्देशकले भनेजस्तो अहिलेको जमानामा सम्भव हुन्छ ? बाध्यकारी बनाउन सम्भव छैन । बरु केही छुट र सहुलियत दिने कुरो गरियो भने उताका विमानस्थलबाट सेवा सञ्चालन गर्न विमान कम्पनीहरु उत्साहित होलान् ।’

बैठकमा विमानस्थल सञ्चालनबारे प्राधिकरणका महानिर्देशक अधिकारीले कडा प्रस्ताव गरेको सहभागी एक जना सचिवले बताए । उनले काठमाडौंमा उडान गर्ने विमान सेवा कम्पनीहरुलाई ती विमानथलमा पनि कम्तीमा एउटा उडानका लागि बाध्य पार्नुपर्ने धारणा राखेका हुन् । प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै झस्काउने गरी अधिकारीले भनेका थिए, ‘भैरहवाबाट उडान गराउने हो भने सरकारले पनि श्रमिकका सबै काम उतैबाट पूरा हुने संरचना बनाउनुपर्यो । विमान कम्पनीलाई पनि बाध्यकारी बनाउनुपर्यो । होइन भने कोही पनि उता जाँदैनन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यारोबडी जहाज दिनकै कम्तीमा चार वटा उडान गर्ने कम्पनीलाई कम्तीमा एउटा उडान अन्यत्र गर्न लगाउनुपर्ने अधिकारीको सुझाव थियो । उनको आशय,नेपाल वायुसेवा,हिमालयन,एअर इण्डिया,फ्लाई दुबई, इण्डिगो,कतार एअरवेजलगायत विमान कम्पनीतर्फ लक्षित हो ।

अधिकारीको ‘ननस्टप’ अव्यवहारिक सुझावप्रति प्रधानमन्त्री र पर्यटनमन्त्री दुबैले वास्ता नगरेको बताइन्छ । बरु उनको भनाईपछि मुख्यसचिव बैकुण्ठ अर्यालले मुख खोलेर जवाफ दिएका थिए । अर्यालको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘महानिर्देशकले भनेजस्तो अहिलेको जमानामा सम्भव हुन्छ ? बाध्यकारी भन्ने कुरो सम्भव छैन । बरु केही छुट र सहुलियत दिने कुरो गरियो भने उताका विमानस्थलबाट सेवा सञ्चालन गर्न विमान कम्पनीहरु उत्साहित होलान् ।’

टिप्पणीहरू