वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैनः प्रधानमन्त्री

वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैनः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरूबीचको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको छ ।

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै पहिलेको सहमति बमोजिम समीकरण अगाडि बढ्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर, कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम देख्छु । तर, केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।’

प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरूको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो  । उत्पीडितहरूले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो ।’

जनयुद्ध जनताको युद्ध रहेको उहाँको भनाई छ । परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा माओवादी आएको उल्लेख गर्दै भन्नुभयो, ‘यही आधारमा टेकेर समाजवाद तयार गर्छौं ।’

प्रधानमन्त्रीले पार्टी केन्द्रीय समितिको बैठक बोलाउन लागिएको र त्यसले विशेष महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिनुभयो ।

 

टिप्पणीहरू