अटेरी मन्त्री फेर्न नसके प्रधानमन्त्रीलाई बालुवाटारबाट डेरा सर्न आग्रह
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हट्न सुझाएका छन् । प्रधानमन्त्री मन्त्रीहरुसँग निरिह देखिएको भन्दै उनले पद छोड्न सुझाव दिएका हुन् ।
स्थानीय सरकारलाई दिने समानीकरण अनुदानका सम्बन्धमा प्रधानमन्त्रीले आफैँ मन्त्रीहरुले नटेरेका कारण समस्या परेको बताएकाले त्यस्ता मन्त्रीलाई हटाउन सक्नुपर्ने थापाले बताए ।
आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले समानीकरण अनुदान संघीय सरकारले दिने बकस नभई जिम्मेवारीको कुरा भएकोमा पनि जोड दिएका छन् । तर, स्थानीय सरकारका प्रमुखहरुले प्रधानमन्त्री भेटेर वित्तीय समानीकरण अनुदान माग्दा प्रधानमन्त्री प्रचण्डले 'आफ्नो त मन भएको तर मन्त्रीले नमानेको' टिप्पणी गरेको भन्दै थापाले त्यस्तो नटेर्ने मन्त्री फेर्न अनुरोध गरे ।
'स्थानीय सरकारका प्रमुखहरुले यो विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ । अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ । प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेन्', थापाले अगाडि भने, 'प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो ? यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरवार, बालुवाटारबाट डेरा सर्ने ।’
स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरेका छन् ।
टिप्पणीहरू