खाजाकाण्डको भित्री खुलासा

खाजाकाण्डको भित्री खुलासा

जात फाल्नु गहतको झोलमा भनेझैं सहसचिव इन्द्रविलाश पौडेलकै गल्ती दोहोर्‍याइदिँदा अर्का सहसचिव सुरजकुमार दुरा पनि खाजाकाण्डमा फसेका छन् । उनी रामहरि खतिवडा सभापति रहेको राज्यव्यवस्था तथा सुशासन समितिका सचिव हुन् । 

यसअघि इन्द्रविलाश पौडेलले ३० प्याकेट लञ्च बक्सका लागि युनडिपीलाई गुहारेकै शैलीमा दुराले २ असारमा आयोजित एउटा बैठकमा उपस्थित सांसदहरूलाई खाजा र खानाका लागि एनजिओको साथ मागेका थिए । आठ वर्षदेखि अलपत्र संघीय निजामती सेवा ऐन घुमिफिरी राज्यव्यवस्था तथा सुशासन समितिमा पुग्दा खाजाकाण्डको कारण व्यथा फेरि बल्झिएको छ ।

असार २ गते बिहानै ८ बजे शुरु हुने उक्त छलफल कार्यक्रममा खाजाको व्यवस्था गरेको थियो एनएफपीपीडीले । यो १० वर्षअगाडि स्थापित एनजिओ हो । जनसंख्या र विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नाम दिइएको यसको अहिलेका हर्ताकर्ता हुन्– दिलकुमारी रावल थापा (पार्वती) । यही एनजिओले खुवाएको खाजा र खानाको विषयमा गलफत्ती हुँदा सभापति रामहरि खतिवडालाई पहिलो गाँसमै ढुङ्गा लाग्न पुगेको छ । २०१४ देखि २०१८ सम्म यो एनजिओको प्रमुख थिइन्– महालक्ष्मी उपाध्याय डिना । 

बैठकमा मन्त्री, सांसददेखि विज्ञमध्ये केहीले खाजा खाइसकेका थिए । अतिथिका रूपमा आमन्त्रित गृहमन्त्री रवि लामिछानेले पनि चना, फलफूल, जाम–पाउरोटी, अण्डा, आलु भुजुरी आधाआधी खाइभ्याए ।

जसै त्यहाँ कांग्रेस सांसद हृदयराम थानी प्रवेश गरे र खाजा र खानाको प्रायोजक खोज्न थाले, लगत्तै अरनिका राई र राम गुरागाईंले आफ्नो परिचय दिएपछि कानुन बनाउने ठाउँमा एनजिओ घुसाइएको भन्दै गृहमन्त्री लामिछाने बिच्किएर हिँडे । केही सांसद खाजा खाइवरी निस्किए भने केहीले बहिष्कार गरे । संघीय संसद सचिवालय स्रोतका अनुसार प्रत्येक समितिलाई बैठकका लागि १० लाखका दरले बजेट दिइँदै आएको छ ।

तर, सांसदहरूलाई खाजा खुवाउनका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषनिकट एनजिओलाई गुहारिएपछि सांसदहरू आक्रोशित हुने नै भए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू