झाडापखाला, हैजा र डेंगुबाट जोगिन के गर्ने ?

झाडापखाला, हैजा र डेंगुबाट जोगिन के गर्ने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

वर्खा याममा यस्ता रोगको खतरा बढ्न सक्ने जनाउँदै मन्त्रालयले सर्तक गराएको छ । मन्त्रालयले सूचना जारी गर्दै झाडापखाला र हैजाबाट बच्न पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउन अनुरोध गरेको छ । त्यस्तै, व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिन, बासी सढेगलेका खानेकुरा नखान, खानालाई छोपेर राख्न, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाईमा ध्यान पुर्याउन भनेको छ । 

साथै हैजा र झाडापखालाबाट जोगिन खुल्ला दिसापिसाब गर्न नहुने र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात धुनुपर्ने स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ । 

एडीस जातका लामखुट्टेको टोकाईबाट हुने डेंगु रोगबाट बच्न घर वरपर तथा कार्यस्थलमा पानी जम्न नदिन मन्त्रालयले सचेत गराएको छ । घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्न र पूरै शरीर ढाक्ने लुगा लगाउन पनि भनिएको छ । 

मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरक सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरुलाई समेत सचेत रहन अनुरोध गरेको छ ।

टिप्पणीहरू