२ वटा राजदूतका लागि मान्छे खोज्न घण्टीको मापदण्ड

२ वटा राजदूतका लागि मान्छे खोज्न घण्टीको मापदण्ड

पार्टीको कोटाबाट राजदूत बनाउन उपयुक्त पात्र खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको मापदण्ड तयार गरेको छ । 

तीन सदस्यीय समितिले तयार पारेको 'राजदूत सिफारिस मापदण्ड २०८१' आज पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको छ । शिशिर खनाल संयोजक रहेको समितिमा सोविता गौतम र अतिन्द्र दाहाल सदस्य छन् । 

३५ वर्ष उमेर पूरा भएको,भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको,विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेकोलाई रास्वापाले राजदूतको लागि सिफारिस गर्ने बताएको छ । 

यस्तै,अन्तर्राष्ट्रिय व्यापार र अर्थ शास्त्रको ज्ञान उपयोग प्रयोग गरी नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्नेलाई राजदूत सिफारिसमा प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ । 

सिफारिस गर्दा व्यक्तिहरूको कूटनीतिक र नेतृत्व क्षमता,अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा अध्ययन, अनुसन्धान,नैतिक चरित्रलगायतलाई पनि आधार मान्ने रास्वपाले जनाएको छ । 

सत्ता गठबन्धनको भागवण्डाअनुसार रास्वपालाई खाडी र युरोपियन मुलुकमा एक-एक राजदूत पठाउने गरी दुईटा कोटा छुट्याईएको छ ।

 

टिप्पणीहरू