संसदमा उठ्यो म्यानपावर एजेन्टलाई राजदूत र डिजीले धम्काउँदै रकम उठाएको प्रसंग

संसदमा उठ्यो म्यानपावर एजेन्टलाई राजदूत र डिजीले धम्काउँदै रकम उठाएको प्रसंग

सरकारले म्यानपावर व्यवसायीलाई राजदूत नियुक्तिको लागि सिफरिस गरेको भन्दै नेपाली काँग्रेसका सांसदले आपत्ति जनाएका छन् । सांसद रामकृष्ण यादवले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारसँग त्यसबारे जवाफ मागेका हुन् । 

सरकारले साउदी अरबको लागि राजदूतमा अबुसुफ्यान खानलाई सिफारिस गरेको छ । तर उनी म्यानपावर व्यवसायी रहेको र उनलाई राजदूत बनाउँदा स्वतः स्वार्थ बाझिएको सांसद यादवको दाबी छ । 

‘नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो, उनले लामो समयदेखि साउदी अरबमा श्रमिक पठाउने काम गर्दै आएका छन्,’ यादवले भने, ‘जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार भइरहेको छ त्यही देशको राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ ।’

काँग्रेसकै सांसद रामहरी खतिवडाले राजस्व अनुसन्धान विभाग बिचौलियाहरुको संस्था बन्दै गएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले महानिर्देशकको नामबाट फोन गर्दै पैसा माग्ने गरेको पाइएको उनको दाबी छ । 

‘तपाईंलाई डीजी बनाउन मैले यति पैसा लगानी गरेको छु, पैसा तिर्नुहोस् भनेर डिपार्टमेन्ट स्टोरदेखि अन्य व्यापारीलाई तर्साउने काम राजस्व अनुसन्धानको डीजीको नम्बरबाट गर्ने गरिएको छ’, उनले भने, ‘त्यो बिचौलिया को हो ? मैले तीन करोड खर्च गरेर डीजी बनाएको हुँ भन्छ रे ।’

सांसद खतिवडाले बिदाको दिनमा पनि महानिर्देशकको नामबाट अर्को व्यक्ति महानिर्देशक बनेर फोन गरेको पाइएको बताए । उनले फोन नम्बर नै सार्वजनिक गर्दै भने, ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्ति महानिर्देशक बनेर त्यही फोन (९७०४५४१००४) बाट व्यापारीहरूलाई बिदाको दिनमा फोन गर्छ रे । त्यो सम्माननीय प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ ।’
 

टिप्पणीहरू