प्रधानमन्त्रीलाई 'जादुगर’ भन्दै गगनले भने- सरकारतिर फर्केर पनि नहेरौँ

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभाको बाँकी पूरै कार्यकाल सरकारतिर फर्केर अनि नहेरी कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । 

आज काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । अहिले सरकारमा रहेका पार्टीहरुलाई नै सरकार चलाउन छोडिदिएर आगामी चुनावमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न थापाले नेता-कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । 

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमोल, माओवादी, घण्टी, बण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ', उनले भने, 'धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यि कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली काँग्रेसले राख्छ ।'

त्यसक्रममा थापाले सत्ता समीकरण फेरिरहेकोतर्फ इंकित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष पनि गरे । 'म जादुगर हो भनेजसरी यता उति उफ्रिने' काम प्रधानमन्त्रीलाई छोडिदिन आग्रह गर्दै उनले त्यस्तो कटाक्ष गरेका हुन् ।

'यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ’, उनले भने ।
 

टिप्पणीहरू