घण्टी सुक्दै गएको रास्वपा महामन्त्रीको ठहर

घण्टी सुक्दै गएको रास्वपा महामन्त्रीको ठहर

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले ‘वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका छन् । पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निश्कर्ष छ। 

एकातिर चर्को स्वरमा ‘मिसन—८४’ को बाँसुरी बजाइरहँदा,अर्कोतिर महामन्त्री ढकालले गृहमन्त्रीसमेत रहेका लामिछाने र रास्वपा जमातको असली अवस्था देखाइदिएका हुन् । 

इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि पार्टीले देशब्यापी कार्यकर्ता भेटघाट र समीक्षा गर्न खटाएबमोजिम उनी देश दौडाहामा निस्किएका थिए । ‘समीक्षा यात्रा’ सकेर ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका उनले अर्को निर्वाचन नआउँदै ‘रास्वपा बिघटन’को संघारमा पुग्नसक्ने चेतावनी दिएका छन् । 

ढकालले परम्परागत राजनीतिक दलको बाटोमै हिँड्दा रास्वपाको हविगत पनि ‘विवेकशील भाग—२’ बन्नसक्ने अनुमान गरेका छन् । उनको प्रतिवेदनलाई उपसभापति डिपी अर्यालनिकट एक केन्द्रीय सदस्यले विश्लेषण प्रतिवेदन नभनी ‘भ्रमपूर्ण प्रतिवेदन’ भनेका छन् ।

करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेको उनी बताउँछन्  ।  

सभापति लामिछानेको ‘कोर टीम’बाट निकालेपछि महामन्त्री ढकालले बिरक्तिएर आम जनमानसमा भ्रम सिर्जना गर्न खोजिरहेको ती सदस्यले आरोप लगाए ।

 

‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ । उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो,त्यतिसम्म त ठीकै थियो । तर त्यो समीक्षा यात्रा नभई ,कुण्ठा यात्रा हो । उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ । तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ती केन्द्रीय सदस्यले भने । 

रास्वपाका कतिपय केन्द्रीय सदस्यले महामन्त्री ढकालको कार्यशैलीलाई रुचाएका छैनन् । उनीहरू ‘केटाकेटीलाई महामन्त्री’ बनाउँदाको परिणाम भन्छन् । ‘पार्टी सभापति रवि लामिछाने र महामन्त्रीको सम्बन्धमा चिसोपना आएपछि उहाँ बोल्ड निर्णय, बोल्ड निर्णय भन्दै हिँडेको देखियो ! खास के हो त्यो बोल्ड निर्णय भनेको ?,’ सभापति लामिछानेको कोर टिमका एक सदस्यले भने । 

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देशभ्रमणमा निस्किएका थिए । असार ६ गतेसम्म उनले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट र कुराकानी गरेका छन् । 

करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेको उनी बताउँछन्  । 

टिप्पणीहरू