'परिवर्तनको जगमा समाजवादको यात्रा'

'परिवर्तनको जगमा समाजवादको यात्रा'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गर्नुभएको छ ।

आज काठमाडौँमा ‘जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक विमोचन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको प्रधानमन्त्रीको भनाई छ ।

'हजारौँ महान् शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ', उहाँले प्रचण्डले भन्नुभयो, 'यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।'

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा पनि बोहोराको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
 
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।

स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम गरिरहेका बेला पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामीलगायत शहीद भएका थिए । त्यस्तै, छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायतले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । 

जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए ।

टिप्पणीहरू