'दलहरुले राज्यका निकायलाई पंगु बनाए, सुधार नगरे गणतन्त्रले प्रतिफल दिंदैन'

'दलहरुले राज्यका निकायलाई पंगु बनाए, सुधार नगरे गणतन्त्रले प्रतिफल दिंदैन'

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कर्मचारीतन्त्र, सुरक्षा अंग र राज्यका संयन्त्रहरु अझै लोकतान्त्रिकरण हुन नसकेको बताएका छन् । 

गणतन्त्रपछि पनि पुरानै राज्य संयन्त्र कायम रहेको जनाउँदै उनले अब गणतन्त्रमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिए । ब्रिटिश लिगेसीमा आएको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको नेपालको कर्मचारीतन्त्र अझै परिवर्तन हुन नसकेको गुरुङको भनाई छ । 

‘गणतन्त्र स्थापनापछि हाम्रो कर्मचारीतन्त्र नयाँ बनाउन सकेका छैनौँ । ३००-४०० वर्ष अगाडि ब्रिटिश लिगेसीमा हुर्केको कर्मचारीतन्त्र राणा शासनले, शाह शासनले, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्विक फरकपन ल्याउन सकेको छैन', उनले भने, 'त्यसमा लोकतान्त्रिकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखि, गणतन्त्रमैत्री बनाउन बाँकी छ ।' 

त्यस्तै, सुरक्षा अंगहरुमा चरम राजनीतिकरण हुँदा उनीहरुले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको गुरुङको बुझाई छ । राजनीतिक दलहरुले प्रहरी संगठनलाई पंगु बनाएको बताउँदै उनले स्वतन्त्र ढंगले काम गर्न सक्ने अवस्था नै नरहेको बताए । 

प्रहरीको लोकतान्त्रिकरण नगरिकन गणतान्त्रिक व्यवस्थाले प्रतिफल नदिने गुरुङको दाबी छ । उनले भने, 'नेपाल प्रहरीमा यति धेरै राजनीतिकरण भयो । हामी राजनीतिक दलहरुले प्रहरीलाई पंगु बनाएका छौँ । पार्टीकरण भयो, गुटकरण भयो, व्यक्तिकरण भयो अहिले । नेता–नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । किनभने प्रहरीलाई ध्वस्त बनाएका छौँ हामीले । नेपाल प्रहरीलाई वा सशस्त्र प्रहरीलाई लोकतान्त्रिकरण नगरीकन संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त गर्न सक्दैन ।'

अहिले पनि नेता, मन्त्री र सांसदसँग नसोधी प्रहरीले उजुरी दर्ता गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले यसबाट प्रहरीलाई मुक्त नगर्दासम्म सुशासनको अभिष्ट पुरा नहुने बताए । त्यस्तै, नेपाली सेनालाई पनि गणतन्त्रमैत्री बनाइनुपर्नेमा सांसद गुरुङको विशेष जोड छ ।
 

टिप्पणीहरू