नेताका सन्तानको स्याहार, किस्तीमा पद उपहार

नेताका सन्तानको स्याहार, किस्तीमा पद उपहार

सरकार र पार्टीका गतिविधिमाथि रचनात्मक आलोचना गरेकै कारण कैयौं कार्यकर्ता अवसरबाट बञ्चित हुनुपर्ने तर सरकारको उग्र विरोध गर्ने बाहिरकाले भने विशेष कोटामा राजदूतजस्तो आकर्षक पद हात पार्ने । माओवादी नेतृत्वको यस्तो रवैयाप्रति मन दुखाउनेहरू पेरिसडाँडामा क्रमशः पोखिन थालेका छन् । 

पछिल्लोचोटि माओवादीको भागमा परेको एकमात्र बेलायतको राजदूतमा कांग्रेस पृष्ठभूमिका डा. विजन पन्त सिफारिस हुँदाको सन्दर्भ हो यो । प्रचण्डको निर्वाचन क्षेत्र गोरखाका उनी सुशील कोइराला प्रधानमन्त्री भएका बखत विकास सल्लाहकार थिए । पन्तको माओवादीका छोरीहरूसँग ‘गोरु बेचेको साइनो’ समेत देखिँदैन । तर, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई आफ्नो भागमा परेको एक मात्र पद सुम्पिएपछि माओवादी पार्टीमा लागेर कपाल फुलाएका बुद्धिजीवीहरू निराश हुने नै भए । भनिँदै छ, राजनीतिक हिसाबले नभई प्रधानमन्त्रीसँगको विशेष सम्बन्धका आधारमा उनलाई यस्तो आकर्षक पद हात परेको हो । 

खासमा पन्त ‘पावर ब्रोकर’ टाइपका मान्छे हुन् । अर्थात् शक्ति केन्द्रको निकट रहेर आफ्नो स्वार्थ हासिल गर्न माहिर मानिन्छन् । माओवादी स्रोतका अनुसार केही वर्षअघिसम्म माओवादीलाई ‘दुश्मन’ ठान्ने उनी गत निर्वाचनताका प्रचण्डसँग जोडिए । भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका प्रचण्डसँग गोरखाको चुनावी अभियानका क्रममा सम्बन्ध स्थापित गरेको र त्यसैको आडमा अहिले राजदूत पड्काएको माओवादी नेताहरू बताउँछन् । चुनावताका पनि उनले कुनै कञ्जुस्याइँ नगरी मन फुकाएर खर्च गरेको बताइन्छ । 

बेलायत बस्दै आएका पन्तले प्रधानमन्त्रीका नातिनीहरू (रेणु र गंगाका छोरी)लाई खर्चपर्चसहित हेरचाहको जिम्मेवारी कुशलतापूर्वक निभाएका कारण पनि राजदूतका लागि योग्य ठानिएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । ‘प्रधानमन्त्रीका नातिनीहरूलाई पारिवारिक ढंगले सुसारेजस्तो बनेर हेरचाह गर्ने गरेका रहेछन्, फ्याट्टै राजदूत पड्काए’, माओवादी स्रोतले भन्यो । 

हुन त, अर्को पार्टीबाट मान्छे ल्याएर आफ्नो कोटामा राजदूत बनाउने अभ्यास माओवादीका लागि नौलो होइन । यसअघि पनि युवनाथ लम्साल, विजयकान्त लालकर्ण, अजय शर्मा, ऋषि अधिकारीहरू अर्कै पार्टीप्रति आस्थावान हुँदाहुँदै माओवादीको नाममा राजदूत बनेका थिए । त्यसैमध्येका हुन्, सल्यानका ऋषि । माओवादीबाट मलेसियाको राजदूत बनेका उनी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका एमाले नेता थिए भने खाँट्टी काँग्रेसी महेश दाहाल र एमालेकी लक्की शेर्पाले समेत यस्तै योग्यताका कारण अष्ट्रेलियाका निम्ति नियुक्ति भेट्टाएका हुन् । 

विदेशमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतजस्तो महत्वपूर्ण पदलाई पारिवारिक विषय बनाउने अभ्यास विगतमा पनि हुने गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा परिवारलाई रिझाएर पहिले बेलायतको राजदूत खाएका दुर्गाबहादुर क्षेत्री (दुबसु) हाल जापानमा छन् । परराष्ट्र सेवाबाट राजदूत बनेको भनिए पनि देउवा पत्नी आरजूसँग खास सम्बन्ध भएकै कारण उनलाई पटक–पटक त्यस्तो अवसर मिलेको हो । बेलायतमा रहँदा उनले फुटबल खेल्दा लडेर घाइते भएका जयवीरसिंह देउवाको राम्रो हेरचाह गरेका थिए । त्यसबेला आरजूलाई ६ महिना पालेर जयवीरलाई दूतावासमै राखी राम्रो स्याहारसुसार गरेकै कारण दुबसु देउवा प्रधानमन्त्री भएका बेला उपहारस्वरूप जापानको राजदूत बनाइए ।

यता, एमालेको कोटामा अमेरिका र भारतको राजदूतमा चर्चा गरिएका डा. युवराज खतिवडा र डा. राजन भट्टराई भने परेनन् । बुझिएअनुसार अध्यक्षसँगको सरसल्लाहमै उनीहरूले राजदूत नखाने भनेपछि अरूले पालो पाएका हुन् । राजदूत भागबण्डा टुंगो लाग्नु अघिल्लो दिन खतिवडाका श्रीमान्–श्रीमती नै बालकोट पुगेर ओलीसँग भेटघाट गरेका थिए । उक्त भेटमा उनले राजदूतमा रहर नगरेपछि सभामुख देवराज घिमिरे निकट चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत सिफारिस गरिएको बताइन्छ । 

एमाले स्रोतका अनुसार राजनको हकमा भने भारतले एग्रिमो नपठाउने सम्भावनासमेतलाई ख्याल गरेर पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको हो । आजन्म कांग्रेस निकट रही एमालेको बलमा मुख्य सचिव खाएका रेग्मीलाई ओलीले शुरुबाटै राजनको विकल्पमा राखेको बताइन्छ । 

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को सदस्य रहेकामाथि चीनलाई अध्ययनको रिपोर्ट बुझाएको भन्दै भारत सशंकित छ । काठमाडौँस्थित चिनियाँ दूतावासबाट १६ लाख लिएर उनले ‘स्ट्याटस अफ नेपाल–इण्डिया रिलेशन’ शीर्षकमा रिसर्च गरेका थिए । भारत इपिजीको प्रतिवेदन बुझ्न तयार नहुनुको पछाडि यस्तै यस्तै कारण हो भनिन्छ । यही कारण जेएनयु विश्वविद्यालयमा पढे तापनि उनको एग्रिमो आउने अवस्था थिएन । यसअघि भारतमै ससुराली भएका राम कार्कीलाई पनि एग्रिमो नआएकै हो । 

अर्कोतिर, एमालेको आन्तरिक राजनीतिमा सक्रिय रहेका राजन चुनाव नजिते पनि अध्यक्षको मन जितेर मन्त्री बन्न सक्ने प्रभावशाली नेतै हुन् । चुनाव नलडीकन राष्ट्रिय सभा सांसद हुने र मन्त्री खाने उनको प्रष्ट लाइन छ भन्छन्, एमालेका एक जना उपमहासचिव ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू