मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने प्रधानमन्त्रीको प्रतिबद्धता

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई धानमा मात्र नभई सबै खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएकोबारेमा स्पष्ट पार्नुभएको छ ।

भरतपुर महानगरले आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको बताउनुभयो । प्रधानमन्त्रीले सिँचाइ, बीउ एवम् मल उपलब्धता गर्ने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने अवधारणा अघि सार्नुभएको छ ।

धानबाली मुलुकको रणनीतिक बाली रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । 

कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै प्रधानमन्त्रीले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवद्र्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।

भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने विश्वास दिलाउनुभयो । कृषकमैत्री कार्यक्रम कार्वान्वयन गरेर उत्पादकत्व वृद्धि गरिने र खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू