रास्वपा महामन्त्री मुकुलमाथि किन खनिए नेताहरु ?

रास्वपा महामन्त्री मुकुलमाथि किन  खनिए नेताहरु ?

कुरो घण्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीकै हो । तर नेताहरूचाहिँ रवि लामिछाने, मुकुल ढकाल,गणेश कार्की र दीपक बोहोरा हुन् । गज्जब कुरो के छ भने, रास्वपाका लगभग सबै नेता किन महामन्त्री मुकुल ढकालमाथि खनिएका छन् ? र, उनले किन चौतर्फी आलोचना खेपिरहेका छन् ?

सबै नेता मुकुलविरुद्ध लागेपछि उनीचाहिँ किन सभापति रवि लामिछानेमाथि खनिए ? यो पक्ष निकै रोचक छ:

रवि लामिछानेलाई रास्वपामा भगवान जस्तै मानिन्छ । उनी जे चाहन्छन् त्यो गर्छन् । र, खल्लीबल्ली गर्नेहरू उफ्रेर ताली बजाउँछन् । अनि,उनै लामिछानेको भित्रिया (कोर) टिमका एक सदस्य हुन् मुकुल । मुकुल चार महिनाअघिसम्म पार्टीमा निकै हावी थिए । रविको आडमा सबै नेतालाई तर्साइरहेका थिए । उनको आफ्नै रवाफ थियो । 

महामन्त्री मुकुलले संसदमा आफूले ‘लेखिदिएको कथा पढ्ने’ निशा डाँगीलाई सचेतक बनाउँदा पार्टीभित्र विवाद भयो । सचेतकको जिम्मेवारी सुमना श्रेष्ठ वा सोबितालाई दिनुपर्ने माग हुँदा मुकुलले गणेश कार्कीबाहेक सबै सांसद र केन्द्रीय सदस्यलाई थर्काए । यो त्यहीँनेर सकियो ।

त्यतिखेर महामन्त्री मुकुलको दादागिरी शैलीबाट रवि र दीपक बोहोराचाहिँ झस्किएकै थिए । अनि, रास्वपा दोस्रो पटक सरकारमा जाँदा महामन्त्री मुकुलले निशा डाँगीलाई मन्त्री बनाउन चाहन्थे । त्योबेलाचाहिँ रवि,डिपी अर्याल र दीपक बोहोराले सीधै इन्कार गरे । सबै कुरामा हावी नहुन चेतावनी दिए । 

रवि लामिछानेले मुकुललाई झपारेपछि उनी मौनजस्तै थिए । पछिल्लो समय उपसभापति डिपी अर्याल र दीपक बोहोराको सल्लाहमा डिपीनिकट मानिएका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रविले लगभग महामन्त्री बनाउने छनक दिइरहेका थिए ।

मुकुल पार्टीभित्र एक्लिँदै गइरहेका थिए । सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र कोषाध्यक्ष दिपक बोहोराले आफूलाई हटाउन भित्रभित्रै कदम चालेको पत्तो पाएपछि मुकुल अर्का उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झाको शरणमा पुगिरहेका थिए । र, अहिले विश्लेषण प्रतिवेदनको नाममा उनले रवि लामिछानेविरुद्ध मोर्चा कसेका हुन् । 

रमाइलो कुराचाहिँ, केन्द्रीय सदस्य गणेश कार्की र कोषाध्यक्ष दिपक बोहोराको पीडा एउटै छ । किनभने उनीहरू गुरुआमा र गर्लफ्रेन्डलाई सांसद बनाउने दाउमा लाग्दा सांसद बन्ने मौकाबाट वञ्चित अभागी पात्र हुन् ।

टिप्पणीहरू