गृहमन्त्रीविरुद्धको मुद्दा हेर्न सपना श्रीमान आज पाकिस्तानबाट फर्कँदै

गृहमन्त्रीविरुद्धको मुद्दा हेर्न सपना श्रीमान आज पाकिस्तानबाट फर्कँदै

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी हेर्दाहेर्दै रिटको पेशी पर्सिलाई तोकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा मुद्दा सुनुवाइ नसकिएका कारण असार ७ गते हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश मल्ल फेडरल जुडिसियल एकेडेमीद्वारा युएन वुमन पाकिस्तानको सहकार्यमा आयोजित दुई वटा कार्यक्रममा सहभागिताका लागि असार १२ गते त्यता जानुभएको थियो । हिजोसम्म चलेको न्यायमा समावेशीसम्बन्धी दक्षिण एसियाली संगोष्ठीलाई सम्बोधन गरेर उहाँ आज स्वदेश फर्कने कार्यक्रम छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । यो मुद्दा यसअघि कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगितसमेत भइसकेको छ ।

शुरुमा सर्वोच्च प्रशासनले रिट दर्ता गर्नै अस्वीकार गरेको थियो । पछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपीठविरुद्ध आदेश दिएपछि बल्ल दर्ता भएको हो । जेठ २० मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराबाट कागजात झिकाउन आदेश दिएको थियो । जेठ २८ गते पनि न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको इजलासले बुटवलबाट थप कागजात झिकाउन आदेश गर्यो । 

उनै रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अदालतले यसअघि मंसीर १७ लाई सारेको थियो ।

टिप्पणीहरू