अदालतको आदेशले पद जोगिएका फणीन्द्र उर्जामै फर्किए

अदालतको आदेशले पद जोगिएका फणीन्द्र उर्जामै फर्किए

सर्वोच्च आदालतको आदेशले सांसद पदमा पुन:स्थापित भएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा फेरि मन्त्री नियुक्त भएका छन् । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उनलाई उर्जा जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका हुन् । देवकोटाले आज बिहान पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । 

देवकोटा यसअघि जेठ २९ गते पनि सोही मन्त्रालयको जिम्मेवारीसहित मन्त्री बनेका थिए । तर, नेपाल समाजवादी पार्टी सम्वद्ध उनलाई माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री पद गुमेको थियो । 

गत निर्वाचनमा 'हँसिया हथौडा' चिन्हबाट सांसद जितेका देवकोटा गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको सदस्य छन् । तर, माओवादीको ह्वीप उल्लङ्घन गर्दै जेठ २८ गते उनले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । र, त्यसको भोलिपल्टै मन्त्री बने । 

तर, जेठ ३२ गते माओवादीको सिफारिसका आधारमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पद निलम्बनमा परेको सूचना प्रदेशसभामा सुनाए । त्यसविरुद्ध उनी रिट लिएर सर्वोच्च अदालत पुगे ।

असार १० गते सर्वोच्चले कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि देवकोटा पुन: सांसद हुँदै मन्त्री पदमा फर्किएका हुन् ।

टिप्पणीहरू