संसद बैठकमा सांसदहरु निदाएको रेकर्ड उपसभामुखसँग

संसद बैठकमा सांसदहरु निदाएको रेकर्ड उपसभामुखसँग

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।  

६६ औं संसद दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जननिर्वाचित संस्थाको महत्व र ओज घटाउने गरी सांसदहरु बैठकमै निदाउने गरेको बताउनुभयो । बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको धेरैचोटी आफूले देखेको उपसभामुख रानाको दाबी छ । 

संसदभित्र फोटो खिच्न नपाइने भएकाले आजको कार्यक्रममा भने सांसदहरु निदाएको फोटो र भिडियो खिचेर राखेको उहाँले बताउनुभयो । नीति निर्माणको थलो संसदमा सुतेर सपना नदेख्न सांसदहरुलाई उपसभामुखले सचेतसमेत गराउनुभएको छ । 

‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ’, उहाँले भन्नुभयो, ‘अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।’

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजना बराबर पनि नभएको जनाउँदै दुःख व्यक्त गर्नुभयो ।
 

टिप्पणीहरू