सूर्यबहादुरका छोरा र क्याप्टेन थापा सरकार फेर्न सक्रिय

सूर्यबहादुरका छोरा र क्याप्टेन थापा सरकार फेर्न सक्रिय
सुन्नुहोस्

मध्यरातको काँग्रेस-एमाले सहमतिपछि वामपन्थी बहुल प्रचण्ड सरकार विघटनको संघारमा पुगेको छ । हिजो बेलुकी माइतीघर हाइटस्थित प्रथम गभर्नर हिमालय समशेर जंगबहादुर राणाको घरमा बनाइएको सहमति ड्राफ्टलाई राति हात्तिगौंडास्थित क्याप्टेन रामेश्वर थापाको निवासमा सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेपछि नयाँ सरकार निर्माणको ढोका खुलेको हो ।

यसका लागि दिउँसो स्वर्गीय हिमालयका ज्वाईं तथा भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल र साँझ अर्का व्यवसायी थापा मुख्य सहयोगी भूमिकामा देखिएका थिए । सुनिल वर्तमान रास्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार हुन् । स्रोत भन्छ,‘माइतीघरबाट निस्केर हात्तिगौंडास्थित क्याप्टेन रामेश्वर थापाको घरमा सबै भेला भएपछि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग बनाउने र निर्वाचन प्रणाली परिवर्तन गर्ने अन्तिम सहमति जुट्यो ।’

औपचारिक रुपमा शनिबार दिउँसोदेखि देखिएको राजनीतिक घटनाक्रमले मध्यरात रवि लामिछाने सम्मिलित कम्युनिष्ट बाहुल्य सरकार ढल्ने दिशातर्फ उन्मुख भएको हो । देउवा र ओलीबीचको लिखतसङ्गै नयाँ सरकारको निम्ति मार्ग प्रशस्त भएको छ । तर नयाँ सरकार कसरी बन्ने भन्ने यक्ष प्रश्न पनि छ ।

यसपटक विगतमा जस्तो सजिलै सरकार हेरफेर हुने अवस्था छैन । प्रचण्डले डेढ वर्षमा दुई पटक गठबन्धन परिवर्तन गरिसक्नुभएको छ भने चार पटक विश्वासको मत लिनुभएको छ । सरकार गठनको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था छ ।

अहिले प्रधानमन्त्री प्रचण्डका सामुन्ने संविधानतः यी दुई विकल्प मात्रै बाँकी छ । शायद आजै राजीनामा आउनसक्छ ।

यसका लागि पहिले सत्ता सहयात्री एमालेले समर्थन फिर्ता लिएको जानकारी दिनुपर्ने हुन्छ । त्यसपछि प्रधानमन्त्री दाहालले आफूसँग विश्वासको रहेको बताउँदै ३० दिनभित्र संसदबाट विश्वासको मत लिनैपर्छ । अन्यथा राजीनामा दिने एक मात्र विकल्प हुन्छ । अहिले प्रधानमन्त्री प्रचण्डका सामुन्ने संविधानतः यी दुई विकल्प मात्रै बाँकी छ । शायद आजै राजीनामा आउनसक्छ ।

एमालेले आजै यसबारे औपचारिक निर्णय गरेपछि राजनीतिक घटनाक्रमले नयाँ कोर्ष लिने छ । त्यसपछि मात्र एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बन्न मार्ग प्रशस्त हुनेछ । 
हिजोराति राजनीतिक खेलले अन्तिम रुप लिनुअघि बिहानदेखि प्रधानमन्त्री र एमाले अध्यक्षले एकअर्कालाई झुक्याउने र विश्वासमा लिने प्रयास गर्नुभएको थियो । ओलीले प्रधानमन्त्रीलाई सरकारको डेलिभरीमा ध्यान दिन आग्रह गर्दै आफ्नो खासै ठूलो डिमान्ड नरहेको जनाउ दिनुभएको बताइन्छ ।
 
यता,प्रधानमन्त्रीले जवाफमा आफू काँग्रेससँग नटाँसिने वचनका साथ अपरान्ह क्याबिनेट बैठक डाकेर एमालेका केही मागलाई सम्बोधन प्रयास गर्नुभएको थियो । तर भित्रभित्रै भइरहेको खतरनाक खेलबारे बालुवाटार जानकारविहीन रहेको पुष्टि भएको छ । काँग्रेस र एमाले नेताहरुले रात रहे अग्राख पलाउँछ भन्दै गएराति हतार हतारमा लिखित सहमति गरेका हुन् ।

सहमतिपछि अब मन्त्रीमण्डल कस्तो बनाउने ? संविधान संशोधनको जिम्मा दिने टिममा क-कसलाई समावेश गर्ने ? त्यसका लागि कुन प्रक्रिया अवलम्बन गर्ने ? संविधानका कुन कुन विषय संशोधन गर्ने भन्ने विषयमा विस्तृत छलफल बाँकी छ । अर्कोतर्फ असिमित जनआकांक्षालाई सम्बोधन गर्नैपर्ने अवस्थामा ठूला दलहरुको आगामी गठबन्धन रहने छ ।

टिप्पणीहरू