सरकार धरापमा, गृहमन्त्रीको मुद्दा सर्वोच्चमा

सरकार धरापमा, गृहमन्त्रीको मुद्दा सर्वोच्चमा
सुन्नुहोस्

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी हेर्दाहेर्दै रिटको पेशीमाथि ११ दिनपछि आज पनि सुनुवाई हुँदै छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा मुद्दा सुनुवाइ नसकिएका कारण असार ७ गते हेर्दाहेर्दैमा राखिएको थियो । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । यो मुद्दा यसअघि कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगितसमेत भइसकेको छ ।

शुरुमा सर्वोच्च प्रशासनले रिट दर्ता गर्नै अस्वीकार गरेको थियो । पछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपीठविरुद्ध आदेश दिएपछि बल्ल दर्ता भएको हो । जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराबाट कागजात झिकाउन आदेश दियो । जेठ २८ गते न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको इजलासले बुटवलबाट थप कागजात झिकाउन आदेश गरेको हो । रविको राहदानी दुरुपयोगसम्बन्धी अर्को मुद्दा अदालतले यसअघि मंसीर १७ लाई सारेको थियो ।

यता, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार मध्यरातदेखि विघटनको संघारमा पुगेको छ । नेपाली काँग्रेस र एमालेबीच गएराति भएको लिखित सहमतिपछि वर्तमान सरकारको निरन्तरतामाथि प्रश्न चिन्ह लागेको छ ।

टिप्पणीहरू