रास्वपामा गर्लफ्रेन्ड काण्ड गहिरियो (विस्तृत प्रतिवेदन सहित)

रास्वपामा गर्लफ्रेन्ड काण्ड गहिरियो (विस्तृत प्रतिवेदन सहित)
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफूमाथि अन्याय भएको बताएका छन् ।

रास्वपाको आज शुरु भएको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पढ्न नदिइएपछि उनले अन्याय महसुस गरेका हुन् । जनाआस्थासँग कुरा गर्दै ढकालले हिजो सचिवालय बैठकले आफूलाई प्रतिवेदन पेश गर्न अनुमति दिएको,तर आज सभापति रवि लामिछानेले जबर्जस्ती सहमहामन्त्रीलाई पढ्न लगाएको बताए ।

‘हिजो सचिवालयले मलाई नै प्रतिवेदन पेश गर्न अनुमति दिएको थियो’,उनले भने, ‘तर आज सभापतिज्यूले मलाई रोक्नुभयो, उहाँकै निर्देशनमा सहमहामन्त्रीलाई पढ्न लगाइयो ।’ 

रास्वपालाई रविको पार्टी नभएर स्वतन्त्र विचार राख्नेहरुको पार्टी बनाउनुपर्ने धारणा राखेकै कारण आफूमाथि रिस साँधिएको ढकालको भनाई छ । उनले थपे, ‘मैले रास्वपालाई रविको पार्टी नबनाऔँ, स्वतन्त्र विचार राख्नेहरुको पार्टी बनाऊँ भनेकाे थिएँ, सायद यसकै कारण सभापतिज्यूले आज मलाई प्रतिवेदन पढ्न दिनुभएन ।’  

सभापति लामिछानेले रास्वपालाई लोकतान्त्रिक पार्टी भनेर दुरुपयोग गरिरहेको ढकालले दावी गरे । ‘मैले हप्तादिन अघिबाटै आजको बैठक लाइभ गर्न माग गरिरहेको थिएँ, सभापतिज्यूले मान्नुभएन । मैले मुखमा टेप लाएर बस्नुपर्यो । लोकतान्त्रिक भन्ने पार्टीमा पनि यस्तो हुन्छ ? कसैलाई बोल्नै नदिने भन्ने हुन्छ ?’, उनको प्रश्न छ ।   

अहिले बैठकमा महाममन्त्री ढकालले तयार पारेको प्रतिवेदन पढेर सकिएपछि आधा घण्टाको 'खाना ब्रेक' भएको छ । यसपछि प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।

टिप्पणीहरू