अख्तियारबाट बच्न निलम्बित मेयर ओलीसामु प्रकट

अख्तियारबाट बच्न निलम्बित मेयर ओलीसामु प्रकट
सुन्नुहोस्

नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको लागि सहमति भएसँगै ललितपुरको गोदावरी नगरपालिकाका निलम्बित मेयर गजेन्द्र महर्जनको दौडधुप शुरु भएको छ । भ्रष्टाचार मुध्दामा निलम्बित उनी ‘आफूलाई जोगाइदिन’ आग्रह गर्दै शक्ति केन्द्र धाइरहेका छन् । 

उनले हिजो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । उनी फूलमाला लिएर ओलीलाई बधाई दिन पुगेका थिए । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेतासँग ओलीकहाँ गएका उनी माला लगाउन अघिअघि तम्सिएका थिए । 

सो क्रममा उनले आफूलाई विशेष अदालतको कारबाहीबाट जोगाइदिन आग्रह गरेको स्रोतको दाबी छ । ‘उनी हिजो ओलीलाई भेट्न आएका थिए त्यो पनि फूलमाला लिएर । माला लगाइदिन पनि अघिअघि थिए । ’,स्रोतले भन्यो । 

महर्जनसहित नगरपालिकाका अन्य जनप्रतिनिधिले राजश्वमा अनियमितता गरेको भन्दै २०८० वैशाख १४ गते अख्तियारमा उजुरी परेको थियो । वडा नम्बर १०, झ्यालुम्टारको साविक पूर्णलालको ढुंगा खानीमा निर्माणाधीन रंगशालाबाट अवैध रुपमा ढुंगा उत्खनन् गरी महर्जनसहितले ठेकेदारसँगको साँठगाँठमा निकासी गरेको उजुरीमा उल्लेख छ ।

झ्यालुम्टार सामुदायिक वन क्षेत्र नजिकै पर्ने ढुंगाखानीमा नगरपालिकाले रंगशाला बनाउने घोषणा गरेको थियो । सात वर्ष हुन लागिसक्दासमेत नगरपालिकाले काम अगाडि नबढाएको र अवैध रुपमा ढुंगा उत्खनन गरी निकासी गर्न थालेको भन्दै गोदावरी नागरिक सरोकार समूहले अख्तियार गुहारेको हो । 

उक्त उजुरीपछि अख्तियारले छानबिन अघि बढाएको थियो । नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी, बालुवासहितका सामग्रीहरु सरकारी रेटभन्दा कममा ठेक्का दिएर राज्यलाई हानिनोक्सानी पुर्याएको अभियोगमा गत जेठ २१ गते विशेष अदालतमा अख्तियारले मुध्दा दायर गरेको छ । 

एक अर्बभन्दा बढी बिगो मागदाबी गर्दै दायर भएको मुध्दामा मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जनालाई प्रतिवादी बनाइएको छ । गत स्थानीय तहको निर्वाचनमा उनी काँग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् । त्यस्तै, उपमेयर अधिकारीले पनि काँग्रेसबाट चुनाव जितेकी थिइन् । काँग्रेस सरकारमा आउने भएसँगै महर्जनलाई नेताहरु भेट्न भ्याइनभ्याइ भएको छ ।

टिप्पणीहरू