एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत,अरु पदमा मिलाइँदै

एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत,अरु पदमा मिलाइँदै

नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत हुनुहुने भएको छ । 

काठमाडौँमा जारी दशौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत समाजवादीले नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशन कार्यतालिकाअनुसार हिजै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने थियो । तर, सहमतिका आधारमा अध्यक्षलगायत पदाधिकारी चयन गर्न निर्वाचन प्रक्रिया रोकेर नेताहरु छलफलमा जुटेका छन् । 

हिजोदेखि विभिन्न चरणमा भएको अनौपचारिक छलफलपछि अध्यक्षमा नेपाललाई दोहोर्याउने सहमति जुटेको सो पार्टीका एक नेताले जानकारी दिए । अहिले पनि होटल रोयलसिङ्गीमा छलफल चलिरहेको छ । 

बताइएअनुसार अध्यक्षका अर्का दाबेदार घनश्याम भुसालले तेस्रो वरीयताको कार्यकारी भूमिका खोजेपछि अध्यक्षबाहेकका पदमा अझै सहमति जुटिसकेको छैन । भुसालले वरिष्ठ उपाध्यक्ष खोजेको र सो पदमा राजेन्द्र पाण्डेको समेत दावेदारी रहेकाले छलफल निष्कर्षमा पुग्न नसकेको हो । 

पदाधिकारीमा सहमति जुटे पनि केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएकाले निर्वाचन गर्ने तयारी छ ।     

यसअघि आज बिहान अध्यक्ष नेपालले सर्वसम्मत नेतृत्व चयन हुने दावी गर्नु भएको थियो । उहाँले आफू पुन: अध्यक्ष हुने कुरालाई दोहोरिन लागेको भन्न नमिल्ने पनि बताउनुभएको छ । 'सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ,म दोहोरिने होइन ।’

एमालेबाट बिद्रोह गरी २०७८ भदौ ९ गते गठन भएको एकीकृत समाजवादीको दशौँ महाधिवेशन असार १६ गतेदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज सम्पन्न गर्ने कार्यतालिका भए पनि केन्द्रीय सदस्य पदमा निर्वाचन भए महाधिवेशन लम्बिने देखिन्छ ।

टिप्पणीहरू