बाढी पहिरोले दर्जनौं राजमार्ग अवरुद्ध

बाढी पहिरोले दर्जनौं राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी पहिरो गएपछि देशभरका दर्जनौं राजमार्ग अवरुद्ध भएका छन् । वर्षा जारी रहेकाले सडकमा खसेको पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी र पहिरोका कारण ३४ वटा राजमार्गमा क्षति पुगेको छ । तीमध्ये १४ वटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । 

संखुवासभाको मकालु गाउँपालिका–३, स्थित दक्षिण कोशी राजमार्ग र भोटेखोला गाउँपालिका–४, स्थित कोशी राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको र वर्षाभरि सञ्चालनमा नआउने प्रहरीले जानकारी दिएको छ । 

यस्तै, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३, स्थित सल्लेरीबाट तामाखानी सडकखण्ड, रसुवाको आमाछोदिङ्गो गाउँपालिका–५, स्थित स्याफ्रुवेशी–थाम्बुचेत सडकखण्ड पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएका छन् । 

मनाङको चामे गाउँपालिका–१, स्थित चामे–बेशिशहर सडक, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३, स्थित कालिगण्डकी करिडोर, गुल्मीको कालिगण्डकी गाउँपालिका–६, स्थित रिद्धि–बागलुङ सडकखण्ड र वडा नम्बर ३, स्थित कालीगण्डकी करिडोर सडकखण्ड पनि पहिरोले बन्द भएको छ । 

यता, प्युठानको नौबहिनी गाउँपालिका–१, स्थित स्याउलीवा बाग्दुला सडकखण्डमा समेत पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको हुँदा वर्षाभरि नखुल्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोल्पाको माडी गाउँपालिका–३ र परिवर्तन गाउँपालिका–५, स्थित शहिद राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । 

कालिकोटको शुभकालीका गाउँपालिका–१, मा कर्णाली राजमार्ग, हुम्लाको नाम्खा गाउँपालिका–५, स्थित सिमकोट हुम्लाबाट नाम्खान जाने बाटो, सुर्खेतको लेकवेशी नगरपालिका–१ र गुर्भाकोट नगरपालिका–१४ को सीमानास्थित खहरेखोलामा रहेको मदन भण्डारी राजमार्ग पनि बाढी पहिरोले अवरुद्ध भएको प्रहरीले बताएको छ । 

यस्तै, कालिकोटको पचाल झरना गाउँपालिका–८, स्थित कर्णाली राजमार्ग, हुम्लाको सर्केगाड गाउँपालिका–१, मा कर्णाली करिडोर, दैलेखको गुराँस गाउँपालिका–४, स्थित सुर्खेत–दैलेख सडकखण्ड र कञ्चनपुरको बेदकोट नगरपालिका–७, स्थित पूर्व–पश्चिम राजमार्ग पनि पहिरोले अवरुद्ध भएको छ । अवरुद्ध भएका राजमार्गहरु खुलाउने प्रयास भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू