कार्कीले खोजिन गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशनी कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन्।
देशभर बाढी, पहिरो र डुबानमा परेर जनता त्रासमा रहेका बेला गृहमन्त्री संसद बैठकमा नआएको भन्दै उनले सोधखोज गरेकी हुन् । देशभर विपद्को अवस्था कस्तो छ भन्नेबारे गृहमन्त्री लामिछानेले संसदलाई जानकारी गराउनुपर्ने कार्कीको माग छ ।
‘यत्रा नागरिक मरिराखेका छन् । डुबानमा परिराखेको छ । बाढी, पहिरो चारैतिर त्राहिराम छ । तर उहाँ(गृहमन्त्री) यहाँ उपस्थित हुनुभएन', उनले आक्रोशित हुँदै भनिन्, 'म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ । किनभने फाइलहरु त खुल्न थालेका छन् । यो त अर्को सरकारले पनि खोलिदेला । कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो ।'
जनतालाई संकटबाट मुक्त गर्नुपर्ने बेलामा गृहमन्त्री फाइल खोल्ने कुरा गर्दै हिँडेको कार्कीको आरोप छ ।
यता, नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण नखोजी प्रधानमन्त्री फेरिंदैमा मुलुकले निकाश नपाउने बताएका छन् । एकले अर्कोलाई दोषारोपण गर्ने प्रवृत्तिले देश नबन्ने भन्दै उनले विगत ३५ वर्षमा सरकारको नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनुपर्ने बताए ।
‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो । उहाँहरु सबै दोषी हुनुहुन्छ । अझै पटक–पटक प्रधानमन्त्री बन्नुभएको सबैभन्दा धेरै दोष हुन्छ', चौधरीले भने, 'दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समीकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको मूल कारक नेतृत्व नै हो ।'
टिप्पणीहरू