माओवादीभित्रै सांसदहरुको कित्ताकाट, दलका नेतामाथि संगीन आरोप
सुदुरपश्चिममा जस्तै मधेश प्रदेशमा पनि माओवादी केन्द्र संसदीय दलको नेता फेर्ने खेल शुरु भएको छ । नौ जना प्रदेशसभा सदस्यमध्ये सात जनाले भरतप्रसाद साहलाई दलको नेताबाट हटाउन अविस्वासको प्रस्वाव पेश गरेका छन् ।
सांसदहरु फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले आज उपनेता युवराज भट्टराईलाई अविश्वासको प्रस्ताव बुझाएका हुन् । उपनेता भट्टराईसमेत साहलाई दलको नेताबाट हटाउनुपर्ने पक्षमा उभिएका छन् ।
साहमाथि आफूहरुको विश्वास गुमेको कारण संसदीय दलको विधानको दफा २० (१) अनुसार अविश्वासको प्रस्ताव पेश गरेको सांसद अन्सारीले जानकारी दिए । साहले सरकारमा सहभागी हुँदा मनमौजी गरेको उनको आरोप छ ।
‘दलको नेता भएपछि उसको महत्वपूर्ण काम भनेको सरकार र पार्टीबीच समन्वयकारी भूमिका खेल्नु हो, तर उहाँले त्यो गर्नसक्नु भएन’, जनआस्थासंगको कुराकानीमा अन्सारीले भने, ‘त्यसैले आज विधानअनुसार अविश्वासको प्रस्ताव पेश गर्न बाध्य भयौँ ।’
उनका अनुसार अब प्रमुख सचेतक महतोले १५ दिनभित्र संसदीय दलको बैठक बोलाउनेछन् । साह वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि मुख्यमन्त्रीले साहसहित छ जना मन्त्रीलाई बर्खास्त गरिसकेका छन् ।
उनले अर्थमन्त्री हुँदा बजेट निर्माणमा अनियमितता गरेको दलभित्रैबाट आरोप लागेको छ । तर, उनले कर्मचारीले नै सिस्टम ह्याक गरेर गडबडी गरेको अभिव्यक्ति दिएका थिए । साहको अभिव्यक्तिले सिंगो पार्टीलाई नै बदनाम गरेको सांसद अन्सारीको ठम्याई छ ।
उनले थपे, ‘हामीले त्यतिकै अविश्वासको प्रस्ताव गर्नेवाला थिएनौं, तर उहाँले हदै गर्नुभयो । पहिलो कुरा, बजेट निर्माणमा ठूलो अनियमितता भयो । त्यसमा उहाँले गल्ती स्वीकार्नुको साटो उल्टै कर्मचारीमाथि आरोप लगाउनुभयो । यस्तो पनि कहिँ हुन्छ, संसारमा कतै नभाको । अर्थमन्त्री हुँ भन्दैमा आफ्नो गल्ति कर्मचारीमाथि थुपार्न पाइन्छ र ? अहिले यहाँ सिंगो पार्टीको आलोचना र बदनाम भइरहेको छ । उहाँको गल्तीको भागिदार हामी बन्न चाहन्नौँ ।’
त्यस्तै साहले बजेट निर्माणको तयारी गर्दा पार्टीसँग कुनै छलफल नगरेको पनि सांसद अन्सारीले बताए । ‘हामी पनि सभामै छौ । उहाँले बजेट निर्माण गर्नुअघि अरु पार्टीका नेतालाई भेट्दै हिँड्नुभयो, तर एकपटक आफ्नै पार्टी सांसदहरुसँग छलफल गर्नुभएन । उहाँले मनमौजी शैली अपनाउनुभयो’, उनले सुनाए ।
नेता साहमाथि पार्टीमा गुटबन्दी गरेको, सीमापारी पुगेर विपक्षी नेताहरुसँग गोप्य वार्ता गरेको, पार्टी र जनताको लागिभन्दा आफ्नै लागि मात्र बढी लाभ लिन खोजेको आरोप पनि लागेको छ ।
टिप्पणीहरू