आफ्नै खर्चमा बाटाे खुलाउन कस्सिए वडाध्यक्ष
अहिले बर्खाको समय छ । बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपत्तिले देशभरका नागरिक आक्रान्त छन् । ठाउँ-ठाउँमा गएको पहिरोले सडक अवरुद्ध हुँदा बजारसँग ग्रामिण भेगका जनताको सम्बन्ध अवरुद्ध भैरहेको छ ।
लगातार वर्षाको कारण तत्काल पहिरो हटाउन सक्ने वातावरण बनिरहेको छैन । यस्तो अवस्थामा रोल्पाका एक वडाध्यक्ष भने जोखिम मोलेरै सडक खुलाउने प्रयास गरेका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अमरजीत पुनले आफ्नै खर्चमा बाटो खुलाउदै हिँडेका हुन् ।
यस वडाका नागरिकहरु खाद्यन्न तथा अत्यावश्यक सामग्रीको लागि सुलिचौर पुग्नैपर्ने बाध्यता छ । सुलिचौर पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र हो । लगातार वर्षाको कारण केही दिनयता बजारबाट वडासम्म पुग्ने सुलिचौर-फगाम सडकअन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको थियो । वडाध्यक्ष पुनले साेही क्षेत्रहरूमा व्यक्तिगत खर्च गरेर बाटो खुलाइरहेका छन् ।
आर्थिक वर्षको अन्त्यमा पहिरो खुलाउन आवश्यक पर्ने बजेट नहुने र अर्को वर्ष कुनुपर्ने बाध्यता भएपछि आफ्नै खर्चमा काम अघि बढाएको वडाध्यक्ष पुनले बताए । नागरिकलाई दैनिक आवत-जावतमा समस्या नहोस् भन्ने हेतुले आफैँ कस्सिएको उनको भनाई छ ।
टिप्पणीहरू